कञ्चनपुर – क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा कञ्चनपुर कारागार व्यवस्थापनमा चुनौती देखिएको छ । ११५ जना कैदीबन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा ४ सय भन्दा बढी कैदीबन्दी राखिदा व्यवस्थापनमा चुनौती थपिएको हो ।
पुरुष कैदीबन्दी ९५ र महिला कैदीबन्दी २० जना राख्ने क्षमता रहेको उक्त कारागारमा २२ महिला र तीन सय ८८ पुरुष गरी चार सय १० जनालाई राखिएको छ ।

कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागि समेत कैदीबन्दीले पालो मिलाउँदै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीबन्दीले अनिदोमै रात काट्नुपर्ने अवस्था छ ।
कारागारभित्र रहेका भवनमा ६ वटा शौचालय र आठवटा बस्ने कोठा छन् । शौचालय जानका लागि समेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन । कैदीबन्दीको संख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको कारागारका जेलर माया कुमारी बस्नेत थापाले बताइन् ।

‘कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ’ उनले भनिन्, ‘सबै भवन पुराना छन् । वर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ ।’
वर्षौं पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटक–पटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताइन् ।
‘कोरोनाको संक्रमण बढ्ने खतरा छ’ उनले भनिन्, ‘संख्या अधिक भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न लगाउन सकिएको छैन ।’ कोरोना भाइरसको जोखिम निकै भए पनि कैदीबन्दी कर्मचारी र सुरक्षाकर्मीमा भने अहिले कोरोनाको संक्रमण देखिएको छैन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको बताए ।
‘तत्कालै कारागारमा रहेका कैदीबन्दीलाई म्यानेज गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘त्योसमेत हुन सकेको छैन । सम्बन्धित ठाउँमा अवस्थाबारे जानकारी दिने हो । त्यसबाहेक यहाँबाट केही गर्न सकिँदैन ।’

















