टीकापुर – कैलालीको टिकापुरमा घण्टाघर निर्माण गरिएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले टीकापुर नगरपालिका–१ मा घण्टाघर निर्माण गरेको हो ।
टिकापुर अवलोकन गर्न र पर्यटक आकर्षित गर्न २६ मिटर उचाइको करिब ३ करोड २६ लाख लगानीमा घण्टाघर निर्माण गरिएको बताईएको छ ।


सहरी विकास कार्यालय धनगढीका सूचना अधिकारी झंकर थापाले दोस्रो चरणमा स्विमिङ पुल बनाउने योजना रहेको बताए । पहिलो चरणमा भ्यु टावर र घडीको व्यवस्था गरिएको उल्लेख गर्दै उनले भने ‘क्यान्टिन हुन्छ, पर्यटकका लागि रिफ्रेस हुने स्थान हुनेछ । नगरपालिकालाई आम्दानीको स्रोत बन्छ ।’
घण्टाघरमा राखिएको घडी पनि निकै सानो भएकाले समय हेर्न पनि गेटमै जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । स्थानीय निर्मला कठायतले भनिन्, ‘भित्तेघडीजस्तो देखिन्छ । घडीको साइज पनि अलि ठूलो भएको भए समय हेर्न पनि सजिलो हुने र अलि आकर्षक पनि हुन्थ्यो ।’
कतिपय स्थानीयले सामाजिक सञ्जालमा पनि घडीको साइज सानो भएको गुनासो गरेको सूचना अधिकारी थापाले बताए । ‘एक मिटर डायमिटरको घडीको साइज हो । यो विषयमा नगरपालिकासित छलफल गरेर घडी फेर्न सकिन्छ तर फेरि अर्को इस्टिमेट बनाउनुपर्छ,’ उनले भने । घण्टाघर उक्लिन सिँढी बनाइएको छ ।

















