अत्तरिया – अत्तरिया देखि ओलानी रुटको नयाँ भाडादर तोकिएको छ । बस, जीप तथा म्याजिकहरुले मनोमानी भाडा लिन थालेपछि सरोकारवालाहरुको भेलाबाट नयाँ भाडादर तोकेको हो ।
जस अन्तरगत अत्तरिया देखि सबैभन्दा टाढा पर्ने कोल्मुडाको भाडा ९० रुपैयाँ तोकिएको छ । त्यस्तै अत्तरिया देखि बान्देखाल÷गोठानको ८० रुपैयाँ, अत्तरिया देखि रेगुलेटर ७० रुपैयाँ, अत्तरिया देखि कृष्ण मन्दिर ६० रुपैयाँ र अत्तरिया देखि गौडी ५० रुपैयाँ तोकिएको छ ।


त्यस्तै अत्तरिया देखि बाँगेसाल ४५ रुपैयाँ, अत्तरिया देखि चाक्लेखोला ३५ रुपैयाँ, अत्तरिया देखि खमौरा २५ रुपैयाँ र अत्तरिया देखि मालाखेती १० रुपैयाँ तोकिएको छ । भेलाले अटो सिक्साहरुले पनि सो भाडामा १० रुपैयाँ थप गरेर मात्रै लिन पाउने निर्णय गरेको छ ।
वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले निषेधाज्ञा सुरु भएयता सवारी धनीहरुले मनोमानी भाडा लिन थालेपछि सरकारले बढाएको भाडादर अनुसार मात्रै लिने निर्णय भएको बताए । ‘पछिल्लो समय अत्तरिया देखि अल्मोडा सम्मकै २ सय रुपैयाँ भाडा लिन थालिएको थियो’ उनले भने ‘नयाँ भाडादर अब ९० रुपैयाँ तोकिएको छ ।’ बस व्यवसायीहरुले नै सरकारले तोकेको भाडा आज देखि लागु गर्ने सहमती जनाएको वडा अध्यक्ष खड्काले बताए । उनले नयाँ भाडादर अत्तरिया ओलानी रुटमा चल्ने सवारी साधनमा टासिएको बताए ।
ओलानीमा बसेको भेलामा जनप्रतिनिधि, समाजसेवी, प्रहरी प्रशासन, यातायात चालकहरु सहभागि रहेको स्थानिय देव नेपालीले बताएका छन । हाल सो रुटमा २० देखि २५ अटो रिक्सा, ५ वटा म्याजिक, १ जीप, ६ वटा बस चल्ने गरेका छन ।

















