खाेज्नुहाेस

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

Image

बैतडी – साउन महिना सुरु भएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपिठहरुमा दर्शनार्थीको घुँईचो लाग्न सुरु भएको छ ।

बत्ती बाल्ने महिनको रुपमा चिनिने साउन महिना लागेसँगै बैतडीसहित प्रदेशका विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीहरुले पूजाआजासंगै बत्ती बाल्न थालेका हुन् ।

attariya hospital

प्रदेशमा यस महिनालाई ‘कालो महिना’ का रुपमा लिन्छन । साउन महिनामा देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए । ‘साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्,’ उनले भने, ‘हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन् ।’

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास छ ।

navjiwan hospital

बिहानै उठेर नुहाइ धुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास छ ।

शक्तिपीठहरुमा पूजाआजका लागि एक सातादेखि नै माछा, मासु, लसुन, प्याज नखाएर शुद्ध रहनु पर्ने परम्परा छ ।

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् । त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् ।

सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम,देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् ।

साउन सुरु भएसँगै दोगडाधाममा भक्तजनहरुको घुइँचो लागेको पण्डित गणेशदत्त भट्टले बताए । उनले भने, ‘साउन महिना सुरु भएयता दैनिक ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेका छन् ।’