खाेज्नुहाेस

नाली सफाईपछि जलमग्न अत्तरिया चोकको पानी सुक्यो, व्यवसायीलाई राहत

Image

अत्तरिया – अत्तरिया चोकमा फेन्सी पसल संचालन गरेका जगन्नाथ भट्ट दुई दिन यता साँझ पसलको सटर बन्द गरेपछि ताल्चा मात्रै लगाउँदै सटर मुनि माटो पनि लगाउने गरेका छन । दुई दिन यता लगातारको बर्सादका कारण चोक डुबानमा परेर सटर भित्र पानी पस्न थालेपछि उनले यो जुक्ति निकालेका हुन ।

‘अन्य केही उपाय छैन । साँझ पसल बन्द गर्ने समयमा सटर मुनिबाट पानी छिर्न नपाओस् भनेर माटोले लेस्ने गरेको छु । त्यै पनि सटरभित्र पानी पसिहाल्छ’ उनले भने ‘पानी पसेर सटरमा भएका लुगाकपडा बिग्रने गरेका छन ।’

attariya hospital

उनको मात्रै नभएर अत्तरिया चोकको पुर्व पट्टि रहेका करिब डेढ दर्जन पसल अहिले थोरै पानी पर्दा पनि डुवानमा पर्ने गरेका छन ।

‘राती पानी परेर पसलमा भएका सामान डुबेका हुन्छन्’ बिएमएस फेन्सी स्टोरका संचालक बिरेन्द्र कुमार चौधरीले भने ‘पसल र पछाडि गोदाममा राखेका करिब ५ लाखका कपडा बिग्रिएका छन ।’ उनले बिहान पसलमा आउँदा पानी भरिएको बताए ।

उनले भने ‘पसलमा पानी भरिएपछि स्थानीय प्रहरी, नगरपालिकामा फोन गरे तर, कसैले केहि गरेनन् । सबै रमिते बनेर गए ।’

मोहना अत्तरिया ६ लेन सडक निर्माण पछि अत्तरिया चोक डुबानमा पर्न थालेको हो । ६ लेन सडक भन्दा चोक गहिरो भएपछि विगत २ वर्ष देखि यस क्षेत्रका व्यवसायीले यही नियति भोग्दै आएका छन । गत बर्ष चोक डुबानमा परेपछि नगरपालिकाले जेसीवी लगाएर निर्माणाधीन ६ लेन सडकमा नाली खनेर पानी निकास गरिएको थियो । यस वर्ष ६ लेन सडकको पक्की नाली निर्माण भएपनि नालीमा फोहर जमेर बन्द भएको थियो ।

navjiwan hospital

बन्द भएको नाली खोल्न व्यवसायीले मनसुन सुरु भएयता आग्रह गर्दै आएका भएपनि कसैले वास्ता नगर्दा पसल डुबानमा पर्दै आएका हुन ।

उद्योग वाणिज्य संघद्धारा नाली सफाई

सम्बन्धित निकायले बेवास्ता गरेपछि शुक्रबार अत्तरिया उद्योग वाणिज्य संघले आफैले जेसीवी लगाएर नाला सफाइ गरेको छ । संघले ६ लेन सडकको करिब २ सय मिटर नाली सफा गरेको हो ।

‘नालीमा धेरै फोहर लेदो जम्मा भएको रहेछ’ अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले भने ‘पानीले व्यवसायीका पसल डुब्न थालेपछि बाध्य भएर आफैले नाली सफा गरेका हौ ।’ उनले नगरपालिका संग नाली सफाइका लागि आग्रह गरिएको भएपनि निर्माणाधीन नालीमा काम गर्न नमिल्ने भनेर पन्छिएको बताए ।

स्थानीय व्यवसायी शिवराज जोशीले नाली सफा गरेपछि चोकमा जम्मा भएको पानी हटेको बताए । उनले अत्तरिया उद्योग वाणिज्य संघले आफ्ना आवाज सुनेकोमा धन्यावाद ज्ञापन गरे ।

उनले नाली सफा गरेपनि चोक क्षेत्र गहिरो भएकाले डुवानको समस्या कायमै रहेको बताए । ‘पानी पर्दा डुवान भएपनि पहिलेको जस्तो पसल नै डुब्ने समस्या आउँदैन होला’ उनले भने ‘सफा गर्न नालीका ढक्कन खोलीएकाले यसलाई मिलाउन स्थानीय सरकारले सहयोग गरे सहज हुन्छ ।’

व्यवसायीहरुले चोकमा नाली निर्माण गरेर चोकको दिर्घकालिन समस्या समाधानका गरिदन समेत आग्रह गरेका छन ।