खाेज्नुहाेस

विजय गच्छदार १० लाख धरौटीमा रिहा

Image

काठमाण्डौं – ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतमा बुधवार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको गच्छदारका तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बुधवार भएको थुनछेक बहसमा वकिलहरूले गच्छदारलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका हुन् ।

’ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजना मन्त्री विजयकुमार गच्छदारले कुनै वदनियतपूर्ण भूमिका खेल्नुभएको छैन । उहाँले मन्त्रिपरिषदमा प्रस्ताव मात्र लैजानुभएको हो,’ गच्छदारका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले भनेका थिए, ’उहाँ (गच्छदार)ले भ्रष्टाचारजन्य कसूर गर्नुभएको छैन, त्यसैले थुनामा राख्न मिल्दैन ।’

गच्छदारलाई धरौटी समेत नलिई रिहा गर्नुपर्ने उनका वकिलहरूको जिकिर थियो । थुनछेकमा गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव र कृष्ण सापकोटा तथा अधिवक्ताहरू ललित बस्नेत र मधुरकृष्ण पाठकले बहस गरेका थिए ।

बहसअघि गच्छदारसँग अदालतमा ११ बजेबाट २ बजेसम्म ३ घण्टा बयान लिइएको थियो ।