नेपाली काङ्ग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त हुने भएका छन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन् ।
आफ्नो राजनीतिक जीवनमा आलोचकबाट ’प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप खेपेका देउवालाई पहिलेका कार्यकालका आधारमा कैयौँले ’काबिल’ प्रधानमन्त्रीको रूपमा लिँदैनन् । यद्यपि देउवाका प्रशंसकहरू उनलाई ’पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल’ व्यक्तिका रूपमा चित्रण गर्छन् । कैयौँ काङ्ग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा ’कूटनीतिकभन्दा पनि बढी स्पष्ट वक्ता’ देखिन्छन् ।

राजनीतिको आरम्भ
सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने । पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक–पटक जेल परेका थिए । त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उनी केही समय जेल परेका थिए ।
आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवाले बताएका छन् ।
प्रजातन्त्र कालमा देउवा
२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली काङ्ग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए । २०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने । २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए ।
२०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरेका थिए ।
ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दलले आन्दोलन गरेका थिए । त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे । तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए ।
त्यसपछि देउवालाई ज्ञानेन्द्रले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो ।उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो । तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए ।
पार्टी विभाजन
गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली काङ्ग्रेसलाई फुटाएर नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए । २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपालकी काङ्ग्रेसमा एकीकृत भयो ।
२०७२ साल फागुनमा भएको १३ पार्थी महाधिवेशनबाट नेपाली काङ्ग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहेका थिए ।
सन् २००८ देखि २०१२ सम्म सोस्यलिस्ट इन्टरन्याशनलको उपाध्यक्ष समेत रहिसकेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् ।
सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए । उनी वर्तमान प्रतिनिधिसभामा डडेलधुरा जिल्लाबाट निर्वाचित सांसद हुन् ।



















