अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले किसानहरुलाई पावर टिलर वितरण गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा व्यवसायीक किसानका २० वटा कृषक समुह तथा फर्मलाई पावर टिलर वितरण गरेको हो ।

सोमबार एक औपचारीक कार्यक्रमका बिच नगरप्रमुख कर्ण बहादुर हमालले कृषक समुह तथा फर्महरुलाई उक्त पावर टिलर वितरण गरेका छन ।
कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले कृषिलाई व्यवसायीकरण, यान्त्रिकरण र आधुनिकीकरण गरी मातृ पेशाको रुपमा अगाडी बढाउन जरुरी रहेको बताए ।
नगरपालिकाले कृषि क्षेत्रमा लागत तथा श्रम घटाई उत्पादकत्व वृद्धि गर्ने र किसानहरुलाई आत्मनिर्भर बन्न अभिप्रेरित गर्ने लक्ष्यका साथ विभिन्न अनुदान लगायतका कार्यक्रमहरु ल्याएको उनले बताए ।

‘कोरोना भाईरसका कारण विदेशीएका दाजुभाईहरु स्वदेश फर्किएका छन’ उनले भने ‘स्वदेश आएका दाजुभाईहरुले कोरोनाको महामारीका बिच पनि आयआर्जनको लागी कृषि पेशा अंगाल्न थाल्नुभएको छ, उहाँहरुलाई नगरका यस्ता कार्यक्रमले प्रोत्साहन मिल्ने विश्वास लिएको छु ।’
कृषि क्षेत्रमा नगरले विभिन्न कार्यक्रमहरु ल्याएको बताउदै उनले त्यस्ता कार्यक्रमहरुको किसानहरुले पनि प्रभावकारी रुपमा प्रयोग गरेको बताए ।
कृषकहरुलाई कृषि पेशामा आकर्षित गरी व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध गर्न नगरपालिका लागीपरेको उनले बताईन । यसैगरी उपप्रमुख रमिता रानाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागी नगरपालिकाले कार्यक्रम ल्याएको बताईन ।
खाडी मुलुकमा गएर पसिना बगाउनुभन्दा आफ्नै देश र आफ्नै माटोमा पसिना बगाए त्यसले अवश्य पनि प्रतिफल दिने उनले बताईन ।
उनले किसानहरुलाई कृषि प्रति अभिप्रेरित गरी उनिहरुलाई कृषिमार्फत नै आत्मनिर्भर बनाउन नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको बताईन ।
नगरपालिकाको २० लाख र कृषक समुह एवम् फर्मको २० लाख लगानी गरी ४० लाखमा २० वटा पावर टिलरहरु नगरपालिकाले वितरण गरेको नगरपालिकाको कृृषि शाखा प्रमुख लाल बहादुर धामीले बताए ।
कार्यक्रमको सञ्चालन नगरपालिकाका कृषि प्राविधिक सहायक गणेश ओझाले गरेका थिए ।


















