काठमाडौँ । बिहान उठ्ने बित्तिकै एक कप चिया नपिईकन त दिन नै सुरु हुँदैन अनि साँझसम्म पुग्दा हातमा कति कप चिया परिसकेको हुन्छ थाहा नै हुँदैन । धेरैका लागि चिया पेय पदार्थ मात्र होइन, दैनिक जीवनको सानो हिस्सा हुन्छ ।
कार्यालयमा कामको दबाब, साथीहरूसँग कुराकानी, वा वर्षाको मौसम जस्तो सुकै अवस्थामा पनि मान्छे चियाको कप समातिहाल्छन् । तर समस्या तब सुरु हुन्छ जब दिनभरि एक/दुई कपको सट्टा धेरै कप पिउने बानी बस्छ । चियामा क्याफिन हुन्छ, त्यसैले चियाको मात्रा र समयमा ध्यान दिनु महत्त्वपूर्ण छ । चिया पिएपछि निद्रा, पेट वा बेचैनीसँग सम्बन्धित समस्या अनुभव गर्नेहरूले त झन् यसमा विशेष ध्यान दिनुपर्छ ।

चिया पिउँदा ध्यान दिनुपर्ने कुराहरू
खाली पेटमा चिया नपिउने
बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने सामान्य बानी हो । यद्यपि, यदि तपाईँले चिया पिएपछि एसिडिटी, छाती जलन वा पेट दुख्ने अनुभव गर्नुहुन्छ भने, यो बानी परिवर्तन गर्नु राम्रो हुन्छ । धेरैका लागि हल्का खाना वा खाजा खाएपछि मात्रै चिया खानु बढी आरामदायक हुन सक्छ ।
छोटो अवधिमै चियाको अर्को कप
एउटा चियाको कप रित्याएको केही बेरमै अर्को कप समातिहाल्ने बानी बिस्तारै चियाको दैनिक खपत बढाउँछ । कार्यालयमा काम गर्दा विशेष गरी यस्तो हुन सक्छ । त्यसकारण, बानीकै कारण चिया पिउनुको सट्टा आफूले दैनिक रुपमा कति क्याफिन खपत गरिरहेको छु भन्ने कुरामा ध्यान दिनु बुद्धिमानी हुन्छ । कफी, इनर्जी ड्रिंक्स र केही अन्य पेय पदार्थहरूमा पनि क्याफिन हुन्छ, त्यसैले तिनीहरू पनि कूल मात्रामा गनिन्छ ।

बेलुका अबेर चिया खान बन्द गर्नुस्
साँझ वा राति चिया पिउनाले केही मानिसहरूको निद्रामा असर पर्न सक्छ । यदि तपाईँलाई राती अबेरसम्म सुत्न गाह्रो भइरहेको छ वा बारम्बार उठ्नुहुन्छ भने बेलुका पिउने चियाको मात्रा घटाउने प्रयास गर्नुहोस् । क्याफिनको प्रभाव व्यक्तिपिच्छे फरक हुन्छ, त्यसैले आफ्नो शरीरको संकेतलाई बेवास्ता गर्नुहुन्न ।
चियासँग के खाइरहनु भएको छ ?
कहिलेकाहीँ समस्या तपाईँले पिउने चियाको मात्रा मन भएर यसको साथमा खाने बिस्कुट, खाजा, पकोडा, वा मिठाईहरू पनि हो । हरेक दिन चियासँग भुटेको वा अत्यधिक गुलियो खानेकुरा खाँदा क्यालोरी सेवन बढ्न सक्छ । त्यसैले, चियासँगै हल्का खाजा राम्रो विकल्प हुन सक्छ ।
पानी पिउन नबिर्सनुस्
धेरै मानिसहरूले चिया पिउने क्रममा सामान्य मात्रामा पानीको सेवन नै घटाइदिन्छन् । तर यस्तो हुनु हुँदैन । दिनभरि पर्याप्त पानी पिउनु जरुरी छ । चियालाई पानीको विकल्प मान्नु राम्रो बानी होइन ।
आफ्नो शरीरको सङ्केतहरूमा ध्यान दिनुस्
चिया पिएपछि तपाईँले बारम्बार घबराहट, मुटुको धड्कन छिटो भएको, पेट दुख्ने वा निद्रामा गडबडी जस्ता समस्याहरू अनुभव गर्नुहुन्छ भने चियाको मात्रा र समयमा ध्यान दिनु पर्छ ।
अन्तमा, सबैले बुझ्नु पर्ने कुरा के हो भने चियाको सेवन पूरै छाड्न जरुरी छैन ।
स्वादको लागि पिइएको चिया त्यतिबेला मात्रै राम्रो हुन्छ जबसम्म यसले तपाईंको दैनिक दिनचर्यामा बाधा पु¥याउँदैन । अत्यधिक चिया सेवनको कारण दैनिकी र स्वास्थ्य बिग्रन थालेपछि भने यसको मात्रा, यो सेवनको समय र आफ्नो बानीमाथि ध्यान दिनु पर्छ ।



















