काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशैभर मौसम प्रभावित बनेको छ।
अहिले देशका पहाडी तथा हिमाली भूभागमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहेको छ भने कोशी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बदली छ। यसैगरी कर्णाली प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


दिउँसोभर देशैभर साधारणतया बादल लाग्नेछ भने देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ। यसैक्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ भने मधेस र तराईका केही स्थानमा पनि वर्षाको सम्भावना छ। रातिको समयमा विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहेको छ।
देशका अधिकांश भूभागमा वर्षा हुने र केही स्थानमा भारी वर्षा तथा चट्याङसमेत पर्ने सम्भावना रहेकोले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्छ। साथै, नदी नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
















