बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे सेवा सुरु भएको छ । गाउँपालिकाले पञ्चेश्वर स्वास्थ्य चौकीलाइ डिजिटल एक्स–रे मेसिन हस्तान्तरण गरेपछि यो महिनादेखि औपचारिक रूपमा सेवा सुरु भएको स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले बताए ।

अबदेखि सामान्य एक्स–रे परीक्षणका लागि स्थानीय नागरिकले जिल्ला सदरमुकाम वा अन्य अस्पताल पुग्नुपर्ने बाध्यता धेरै हदसम्म हट्ने अपेक्षा गरिएको सार्कीले बताए । डिजिटल एक्स–रे सेवा सुरुभएसँगै हड्डी, छाती तथा अन्य रोगको समयमै परीक्षण र उपचारमा सहजता ल्याउनुका साथै सेवाग्राहीको समय र खर्चसमेत बचत हुने विश्वास व्यक्त गरिएको छ ।

नागरिकलाई आफ्नै पालिकाभित्र आधुनिक, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा आवश्यक लगानीलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।



















