काठमाडौँ – मिटरब्याजपीडितहरु आन्दोलनका लागि काठमाडौं यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरुका प्रतिवेदन तत्काल गृह मन्त्रालयमार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मिटरब्याज पीडितहरुसँग निजगढ पुगेर गृहमन्त्री सुधन गुरुङ वार्ता गर्न थालेपछि बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पाँच वटा निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले बिउविजन पहिलो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । कृषि मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको हो । बैठकले सशस्त्र प्रहरी बल र विपदमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलगायतलाई नगद पुरस्कार र सम्मान गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ । उनलाई महाप्रबन्धकको पनि जिम्मेवारी दिने निर्णय गरेको छ ।



















