अत्तरिया – कैलालीकाे धनगढीबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। भारतको लखिमपुर खिरी घर भई हाल धनगढी उपमहानगरपालिका–५ सत्कार चोकमा डेरा गरी बस्ने २४ वर्षीय साहिल खान पक्राउ परेका हुन ।

मंगलबार राति वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा खानको कोठा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा कटुवा पेस्तोल एक थान, खुकुरी एक थान, फलामको रड एक थान, रेन्च एक थान, डिजिटल काटा एक थान, चाँदीजस्तो देखिने माला दुई थान, फलामको ‘टी’ एक थान तथा टर्चलाइट दुई थान बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामानसहित साहिल खानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।


















