खाेज्नुहाेस

गोदावरीमा महाकाली सिँचाइ नहर क्षेत्रका प्रभावितले क्षतिपूर्ति पाउने

Image

अत्तरिया – महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती क्षेत्रमा निर्माण गरिएको मूल नहरको क्षेत्रभित्र परेका स्थानीय बासिन्दाले क्षतिपूर्ति पाउने भएका छन्।

महाकाली सिँचाइ आयोजना तेस्रो चरण, महेन्द्रनगर कञ्चनपुरले गोदावरी–१० वडा कार्यालयलाई पत्राचार गर्दै नहर क्षेत्रमा परेका दर्तावाल जग्गाभित्रका घर, टहरा, गोठ, गोबरग्यास, नलकुप, शौचालय, ट्युबवेल लगायतका भौतिक संरचना तथा फलफूलका बोटबिरुवाको क्षतिपूर्ति वितरणका लागि सूचना टाँस गरी सिफारिस उपलब्ध गराउन अनुरोध गरेको हो।

attariya hospital

आयोजनाका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रभावित संरचना तथा फलफूल बोटबिरुवाको क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेपछि प्रक्रिया अघि बढाइएको हो।

navjiwan hospital

क्षतिपूर्ति पाउने सूचीमा गोदावरी–१० का १० जना जग्गाधनी परेका छन्। उनीहरूले संरचना तथा फलफूल बोटबिरुवाबाट भएको क्षतिको आधारमा क्षतिपूर्ति प्राप्त गर्नेछन्।

आयोजनाले सम्बन्धित लाभग्राहीलाई आवश्यक कागजातसहित वडा कार्यालयमार्फत सिफारिस पेश गर्न आग्रह गरेको छ। आवश्यक कागजातमा जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षको एकीकृत सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयको सिफारिस समावेश गरिएको छ।

महाकाली सिँचाइ आयोजनाले आवश्यक प्रक्रिया पूरा गरी प्रभावित स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ।

सम्बन्धीत समाचार : महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन साढे तिन अर्बका ठेक्का, काम सुस्त