धनगढी – नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश र कैलाली चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा मैत्रीपूर्ण स्विमिङ प्रतियोगिता आयोजना गरिएको छ । गोदावरी नगरपालिका–१ स्थित अतिथि रिभरसाइड स्वीमिङ पुलमा आयोजित आइतबार सम्पन्न प्रतियोगितामा २५ जना सहभागीमध्ये वान ब्ये डान्सका डान्स निर्देशक नरेश विसी प्रथम भएका छन्। दोस्रो स्थान गोदावरी चेम्बरका सचिव तथा युनिक स्टेशनरीका सञ्चालक जनक भट्राईले हासिल गरेका थिए। विजेतालाई पुरस्कारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी “सबैभन्दा बढी समय पानीभित्र डुब्न सक्ने” प्रतियोगितामा डाँडाबाग सुनचाँदी पसलका सञ्चालक सुनिल सुनार प्रथम भएका थिए।


कार्यक्रमले पौडी खेल संस्कृतिको विकास, स्विमिङ व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउने तथा खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा अतिथिका रूपमा हार्डवेयर व्यवसाय सङ्घ कैलालीका अध्यक्ष कुबेर शाही, इलेक्ट्रोनिक व्यवसाय सङ्घका निवर्तमान अध्यक्ष नेत्र तिवारी, होटल व्यवसायी सङ्घका अध्यक्ष वीरसिंह कार्की, फर्निचर व्यवसायी सङ्घका अध्यक्ष विष्णुदत्त बडु, पर्यटन व्यवसायी उपेन्द्र विष्ट, जिल्ला चेम्बरका सल्लाहकार हेमप्रकाश उप्रेती, नेपाल प्याब्सनका केन्द्रीय सल्लाहकार जगवीर थापा, खड्क शाह, सिद्धबाबा एकेडेमी बेलौरीका संस्थापक प्रधानाध्यापक, सामुदायिक होमस्टे महासंघका केन्द्रीय सल्लाहकार माधव चौधरी तथा मजगाउँ सामुदायिक थारु होमस्टेका अध्यक्षरसञ्चालक कल्पना चौधरीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण कैलाली जिल्ला चेम्बरका निवर्तमान कोषाध्यक्ष सुखदेव सिंहले गरेका थिए भने व्यवस्थापनमा युवा चेम्बर प्रदेश अध्यक्ष जय धामी, मनोज दाहाल, सुदूरपश्चिम प्रदेश चेम्बरका महासचिव रविन भट्ट तथा कोषाध्यक्ष भुवनेश्वर भट्टको सक्रिय भूमिका रहेको थियो।
कार्यक्रममा कैलाली जिल्ला चेम्बरका अध्यक्ष प्रमोद अधिकारीले स्वागत मन्तव्यसहित कार्यक्रमबारे प्रकाश पारेका थिए भने समापन सुदूरपश्चिम प्रदेश चेम्बरका अध्यक्ष विनोद मल्लले गरेका थिए।
गोदावरी नगरपालिका–१ स्थित अतिथि रिभरसाइड स्वीमिङ पुलमा सम्पन्न उक्त कार्यक्रमले व्यवसायिक सम्बन्ध विस्तारसँगै पौडी खेलप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।


















