खाेज्नुहाेस

योजना तर्जुमामा सहभागिताको खाका कोर्न जुटे कृष्णपुरका बालबालिका

Image

अत्तरिया – स्थानीय तहहरू नयाँ आर्थिक वर्षको योजना तर्जुमामा जुटेका बेला कञ्चनपुरको कृष्णपुरका बालबालिकाहरू पनि बालबालिकाका कार्यक्रमलाई स्थानीय तहको  योजनामा समावेश गर्न छलफलमा जुटेका छन् । बालबालिकाहरूले नगर स्तरीय बाल भेला आयोजना गरेर आफ्ना कार्यक्रमको खाका कोर्न २ दिने छलफलमा जुटेका हुन ।

जसमा स्थानीय तहका योजना तर्जुमा प्रक्रियामा बाल बालिकाको सहभागिता सुनिश्चितताका लागि छलफल गर्ने र भेलाबाट आएका कार्यक्रममाको ड्राफ्ट बनाएर स्थानीय सरोकारवालालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

attariya hospital

वल्डभिजन ईन्टरनेशनल नेपाल, राष्ट्रिय समाज कल्याण सघ (एनएनएसडब्लुए) र नगरको सहयोगमा नगर स्तरीय बाल सञ्जालको आयोजनामा शुक्रवार देखि सुरु भएको उक्त कार्यक्रममा स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बाल बालिकाको सहभागिता सुनिश्चितमा गर्ने उद्देश्यले आयोजना गरिएको सञ्जालका अध्यक्ष अशोक मल्लले बताए ।

उनले २ दिने छलफलमा कृष्णपुर नगरपालिका भित्र रहेका बालबालिकाका समस्याहरूका विषयमा पनि छलफल गरिने बताए । ‘नगरपालिका भित्र रहेका बालबालिकाका के कस्ता समस्या छन् तिनको पहिचान गरेर कृष्णपुर नगरपालिकाले ती समस्या समाधानका लागि के कस्ता नीतिहरू ल्याउन सक्छ भन्ने बारेमा हामी छलफल गर्ने छौ’ उनले भने ‘छलफलमा हाल सम्म गरेका कामको पनि समीक्षा गरिने छ ।’

navjiwan hospital

नगर स्तरीय बाल भेला कार्यक्रमको उद्घाटन गर्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेम राज ओझाले कृष्णपुर नगरपालिकाले बालबालिकाका माध्यमबाट समाज परिवर्तन गर्न खोजेको बताए । उनले बालबालिकालाई नगरपालिका सँग जोड्न सकेमा धेरै समस्या समाधान हुने बताए । उनले सोही कारण नगरपालिकाले लागू औषध न्यूनीकरणका कार्यक्रम पनि नगर स्तरीय बाल सञ्जाल मार्फत सञ्चालन गरेको बताए ।

‘बालबालिकाबाट पनि नगरपालिकाको ठुलो अपेक्षा छ’ उनले भने ‘बालबालिकाको वडा–वडा र नगरमा सञ्जाल भएका भएकाले धेरै काम गर्न नगरपालिकालाई पनि सहज भएको छ ।’ उनले बालबालिका स्थानीय तहका योजना  तर्जुमा प्रक्रियामा सहभागी मात्रै हुने नभएर अरूलाई पनि सहभागिता बढाउनका लागि बालबालिकाको सञ्जालले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख द्रोपती रानाले कृष्णपुरका बालबालिका धेरै सक्षम भइसकेकाले जनप्रतिनिधि सरह नै समाजमा बाल सञ्जालले काम गरिरहेको भन्दै प्रशंसा गरिन । उनले पालिका भित्र रहेका सबै बालबालिकाका समस्या पहिचान गरेर उनीहरूका समस्या समाधानका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले योजना  तर्जुमामा बालबालिकाको सहभागितालाई विशेष ध्यानमा राख्ने गरिएको बताए । उनले प्राथमिकताका सवालमा पनि महिला बालबालिका समाजमा पिछडिएका वर्ग क्षेत्र समुदायलाई लाभ पुगाउने गरी योजना छनोट गर्ने गरिएको बताए । उनले बजेट तजुर्माको कार्यक्रम सुरु भइसकेकाले बालबालिकाहरूले वडास्तरबाटै सहभागिता जनाउन आग्रह गरे । ‘हामीले जेठको १० गते सम्म वडामा भेला गर्ने कार्य तालिका बनाएका छौ’ उनले भने ‘बालबालिकाहरूले पनि आ आफ्ना वडामा के योजना छनोट भइरहेका छन् त्यसमा चासो राखेर आफ्नो सहभागिताको सुनिश्चितता गर्नुहोला ।’

कृष्णपुर नगरपालिकालाई बालमैत्री पालिका बनाउनका लागि हाल विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन् । सोही अनुसार बालबालिकाको बजेट तर्जुमामा सहभागिता सुनिश्चितताका लागि आयोजना गरिएको छलफल कार्यक्रम शनिवार सम्पन्न हुँदै छ ।