काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र सञ्चालित एक क्यान्टिनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिसरमा रहेको ‘हाम्रो खाजा घर’ ले म्याद नाघेको दही बिक्री गरेको फेला परेपछि विभागले उक्त कारबाही गरेको हो ।

विभागका अनुसार उपभोक्ताको गुनासो र उजुरीका आधारमा बुधबार (२०८३/०१/२३ गते) गरिएको आकस्मिक अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद गुज्रिएको दही फेला परेको थियो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।



















