अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ६ महिना देखि ५ वर्ष सम्मका ६ हजार १६३ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । हिजो देखि सुरु भएको अभियान अन्तरगत आज पनि गोदावरीमा भिटामिन ए र जुकाको औषध खुवाउन लागिएको हो । जसअन्तर्गत १ वर्ष देखि ५ वर्ष सम्मका ५ हजार ५६८ बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष राखिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले बताए ।

उक्त कार्यक्रमका लागि १०७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअनुसार दुई दिनसम्म देशभर सञ्चालन गरिएको छ ।

जसअनुसार कैलालीमा मात्रै ६ महिनादेखि ५ वर्षसम्मका ६६ हजार ४२४ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ । साथै, ९८ हजार ४५५ बालबालिकालाई जुकाको औषधि दिइने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जिल्लाका १३ स्थानीय तहका लागि करिब १ हजार २०० महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता तथा बालबालिकाको वृद्धि–विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै जुकाको औषधिले पेटका कीरा हटाउनुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखालाजस्ता समस्या न्यूनीकरण गर्न सहयोग पु¥याउँछ ।
भिटामिन ‘ए’ कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु भई २०५९ देखि देशभर लागू गरिएको हो । त्यस्तै जुकाको औषधि खुवाउने कार्यक्रम विसं २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ देखि देशव्यापी रूपमा सञ्चालन हुँदै आएको छ ।


















