काठमाडौं – पश्चिम तराईमा अझै केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तराई–मधेसमा वर्षाको सम्भावना नहुँदा गर्मी बढ्ने जलवायुविज्ञ धर्मराज उप्रेतीले औँल्याएका छन् । “तराई–मधेस र त्यसमा पनि पश्चिम तराईमा वर्षाको सम्भावना अझै चार दिनसम्म देखिँदैन भने गर्मी बढ्ने देखिन्छ,” उनले भने ।

पूर्वी पहाडका केही ठाउँमा वर्षा र बादलले शीतल महसुस हुने सम्भावना छ । काठमाडौंमा पनि एक–दुई दिन बादल र हल्का वर्षाको सम्भावनाले धेरै गर्मी नहुने उनले उल्लेख गरेका छन् । “अर्थात्, असजिलो गर्मी (काठमाडौंमा) केही दिन हुँदैन होला,” उनले भनेका छन्, “व्यक्तिअनुसार गर्मी सहने क्षमता फरक–फरक हुन्छ ।”

उनका अनुसार, भारतका धेरै ठाउँमा हाल अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
नेपालमा तत्काल लूको अवस्था छैन । तर, तराई भूभागमा अधिकतम तापक्रम ३५–३७ डिग्री हाराहारी रहने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले पनि तराई क्षेत्रमा ‘तातो दिन’ र केही पहाडी भूभागमा वर्षाको पूर्वानुमान गरेको छ ।


















