कञ्चनपुर – भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडाइ गर्न तथा अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतीय सशस्त्र सीमा बल र नेपालका सशस्त्र प्रहरी बल बीच समन्वय बैठक सम्पन्न भएको छ । भारतको बसही (खीरी) क्षेत्रमा सीमा स्तम्भ नम्बर ७६९/२१ ९ पुरानो स्तम्भ नम्बर २००० नजिक आयोजित बैठक ४९ औँ वाहिनी एसएसबीका कमाण्डेन्ट शेर सिंह चौधरीको निर्देशनमा बी कम्पनी बसहीका कम्पनी कमाण्डर रामकुमार यादवको नेतृत्वमा सम्पन्न भएको हो ।

बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय सुदृढ गर्ने, सूचनाको छिटो आदान–प्रदान गर्ने र सीमा पार आवतजावत गर्ने व्यक्तिहरूको परिचयपत्र कडाइका साथ जाँच गर्ने निर्णय गरिएको छ। साथै लागुऔषध ओसारपसार, मानव तस्करीलगायत गम्भीर अपराध नियन्त्रणका लागि निगरानी बढाउने र यस्ता समन्वय बैठकहरू नियमित रूपमा गर्ने सहमति जनाइएको छ ।

नेपालतर्फबाट एपीएफका प्रभारी विजय प्रताप सिंह, सहायक उप–निरीक्षक दीपेन्द्र बुद्धसहित हिमालय राणा, बलराम चौधरीलगायत सुरक्षा कर्मी सहभागी थिए। भारततर्फबाट एसएसबीका निरीक्षक रामकुमार यादव, रामाशीष कुमार मेहता, राजेश पिन्टु, हरिश, हेमराज गुर्जर, हिमांशु र सुनील कुमारको उपस्थिति रहेको थियो ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न बैठकमा दुवै पक्षले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानून व्यवस्था कायम राख्न आपसी सहयोगलाई थप मजबुत बनाउने प्रतिबद्धता दोहो¥याएका छन् ।


















