काठमाडौं – गर्मी मौसममा अन्य समयको तुलनामा बढी स्वास्थ्य समस्याहरू देखिने गर्छन् । गर्मी मौसममा विभिन्न प्रकारका संक्रमणको जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन् । चिकित्सकहरुका अनुसार गर्मी मौसममा मुख्य गरी तल उल्लेखीत रोगहरु देखिन्छन् भने ति रोगहरुका लक्षण र बच्ने उपायहरु पनि यहाँ प्रस्तुत गरिएको छ ।
१. झाडापखाला

गर्मीसँगै वर्षात् पनि सुरु हुन्छ । यतिबेला पानीका स्रोतहरू दूषित हुने सम्भावना बढी हुन्छ । मान्छे तथा जनावरका दिसा–पिसाबका साथै अन्य दूषित स्रोतबाट पानी असुरक्षित हुन्छ । त्यस्तो पानी सिधै पिउँदा झाडापखाला र आउँ जस्ता रोग देखा पर्छन् । मान्छे तथा जनावरको दिसामा पाइने ‘कोलिफर्म’ कीटाणुले आउँ र मासी पर्न सक्छ । सडेका, गलेका, बासी तथा झिँगा भन्किएका दूषित खानाबाट पनि झाडापखाला लाग्न सक्छ ।
लक्षणहरू : बारम्बार दिसा लाग्ने, पेट दुख्ने, वान्ता हुने र शरीर गल्ने जस्ता लक्षण देखिन्छन् । आउँको समस्या छ भने दिसा गर्दा रगत देखा पर्ने र पूरै दिसा ननिस्किएको जस्तो महसुस हुने हुन्छ ।
बच्ने उपाय : पिउने पानीलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्ने । पानीका मुहानहरू सफा राख्ने, ताजा खाना खाने र बासी खाना खानुपरे राम्ररी तताएर मात्र खाने । खुल्ला ठाउँमा दिसा–पिसाब नगर्ने । झाडापखाला लागेपछि शरीरमा पानीको कमी हुने भएकाले पुनर्जलीय झोल (जीवनजल) बनाएर पटक–पटक पिउनुपर्छ । निरन्तर पखाला लागिरहेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्छ । अदुवा, लसुन र ज्वानोको प्रयोगले पाचन प्रणालीलाई बलियो बनाउँछ । एक गिलास पानीमा एक चम्चा ज्वानो भिजाएर पिउँदा पेट सफा हुन्छ ।
२. टाइफाइड
टाइफाइड ‘साल्मोनेला टाइफी’ जीवाणुले हुने रोग हो, जुन दूषित पानी वा खानाबाट सर्छ । वर्षायाममा खानपानमा ध्यान नदिँदा यो रोगको सम्भावना बढ्छ ।
लक्षणहरू : निरन्तर ज्वरो आउने, अत्यधिक पसिना आउने, जाडो हुने, थकान, पेट दुख्ने, खान रुचि नहुने, कब्जियत वा पखाला लाग्ने र वान्ता हुने हुन्छ । केही दिनपछि छातीको तल्लो भाग र पेटमा राता बिबिराहरू देखिन सक्छन् ।

बच्ने उपाय : स्वच्छ खानेकुरा खाने र शुद्ध पानी पिउने गर्नुपर्छ । फलफूल र तरकारीलाई राम्ररी धोएर मात्र खानुपर्छ । शौचालय सफा राख्नुपर्छ । टाइफाइड विरुद्धको खोप लगाउनु पनि यसबाट बच्ने उत्तम उपाय हो । धेरै दिनसम्म ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ ।
३. डेंगु
डेंगु ‘एडिस’ जातको पोथी लामखुट्टेले सार्ने गर्छ । पछिल्लो समय यो रोग बढिरहेको देखिन्छ । प्रायः वर्षायाम सकिनै लाग्दा भदौ र असोजमा यसको प्रकोप धेरै देखिने गरेको छ । डेंगु नियन्त्रणका लागि अहिलेदेखि नै सावधानी अपनाउनु आवश्यक छ ।
लक्षणहरू : उच्च ज्वरो आउने, जोर्नी तथा शरीर दुख्ने, टाउको दुख्ने, शरीरमा रातो दाग देखिने र गम्भीर अवस्थामा शरीरका विभिन्न भागबाट रक्तस्राव हुने समस्या देखिन्छ ।
बच्ने उपाय : लामखुट्टे नियन्त्रण र यसको टोकाइबाट बच्नु नै मुख्य उपाय हो । घर वरपर पानी जम्न नदिने, ड्रम तथा अन्य भाँडाहरूमा लामो समयसम्म पानी जमाएर नराख्ने, राति सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने क्रिम लगाउने र बाहिर निस्कँदा शरीर ढाकिने (लामो बाहुला भएको) कपडा लगाउने ।
४. हेपाटाइटिस
विभिन्न खालका हेपाटाइटिसमध्ये हेपाटाइटिस ‘ए’ र ‘ई’ भाइरल संक्रमण दूषित पानी र खानाबाट सर्छ । यसले कलेजोलाई असर गर्छ र जन्डिसको समस्या निम्त्याउँछ ।
लक्षणहरू : छाला र आँखा पहेँलो हुने, पिसाब गाढा पहेँलो हुने, थकान महसुस हुने र भोक नलाग्ने ।
बच्ने उपाय : बाहिरको र बासी खाना नखाने । फलफूल र तरकारी राम्ररी धोएर मात्र खाने । मदिरा सेवन नगर्ने । पिउने पानीको शुद्धतामा ध्यान दिने र प्रशस्त झोलिलो कुरा खाने ।
















