भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेर आएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रत्यक्ष असर पर्दै भारतबाट आउने पेट्रोल, डिजेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको खरिद मूल्यमा भारी वृद्धि भएको हो ।

निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ खरिद दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४१ रुपैयाँ ६० पैसाले बढेर आएको छ ।

त्यसैगरी, डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ ९३ पैसा, हवाई इन्धनमा प्रतिलिटर १२३ रुपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर १९० रुपैयाँ ३६ पैसाले वृद्धि भएर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट खरिद मूल्यमा यति ठूलो वृद्धि भएर आए पनि नेपाल आयल निगमले सर्वसाधारण उपभोक्तालाई भने तत्कालका लागि राहत दिएको छ ।
निगम सञ्चालक समितिले उपभोक्ताको हितलाई मध्यनजर गर्दै र आफूसँग रहेको ‘मूल्य स्थिरिकरण कोष’ को उपयोग गर्ने नीति लिँदै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको छ । हवाई इन्धनको मूल्य भने निगमले बढाएको छ ।



















