शेरबहादुर ऐर, धनगढी – सुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामी वढ्दै गएका छन । प्रदेश निर्देशनालयको तथ्यांक अनुसार हरेक वर्ष प्रदेशमा क्षयरोगी विरामी दर बढ्दै गएको छ । आर्थिक वर्ष ७७/७८ मा दुई हजार आठ सय २६ जना, आर्थिक वर्ष ७८/७९ मा तीन हजार चार सय २४ जना, आर्थिक वर्ष २०७९/८० मा तीन हजार दुई सय १४ जना, आर्थिक वर्ष २०८०/८१ मा तीन हजार छ सय १८ जना रहेकोमा आर्थिक वर्ष ८१/८२ मा तीन हजार छ सय ४८ जना विरामी रहेको उल्लेख छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेशमा एक हजार आठ सय ४० क्षयरोगीका विरामी रहेको उल्लेख छ । नौ जिल्लामध्ये कैलालीमा आठ सय १२ र कञ्चनपुरमा पाँच सय चार विरामी रहेको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा डोटीमा ७८ जना क्षयरोगका बिरामी रहेका छन ।

त्यस्तै, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका विरामी रहेका छन ।
स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा क्षयरोगका कारण मृत्यु हुनेको दर कुल विरामी संख्यामा कमी आउन सकेको छैन । उपलब्ध तथ्यांक अनुसार प्रत्येक वर्ष प्रति लाख जनसंख्यामा करिब ५५ जनाको मृत्यु क्षयरोगका कारण हुने गरेको छ । यो दर घटाउन समयमै निदान र पूर्ण उपचार सुनिश्चित गर्नु आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
चालु आर्थिक वर्षमा प्रदेशका कुल विरामी संख्यामध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिममा आर्थिक वर्ष २०८१/८२ मा एक सय ३७, आर्थिक वर्ष २०८०/८१ मा एक सय १६ र आर्थिक वर्ष २०७९/८० मा एक सय २१ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिममा दुई हजारभन्दा बढी नयाँ क्षयरोगी वर्षेनी फेला पर्ने गरेको तथ्यांकले देखाएको छ । सो तथ्यांक अनुसार गत आर्थिक वर्षमा यस प्रदेशमा तीन हजार छ सय ४८ जना नयाँ क्षयरोगी फेला परेका थिए । जस अनुसार सबैभन्दा बढी एक हजार पाँच सय १३ कैलाली र सबैभन्दा कम बाजुरामा एक सय ४१ जना क्षयरोगी फेला परेका थिए ।
कोभिड यता सुदूरपश्चिममा पहिचान लक्ष्यअनुसार हुन नसक्दा क्षयरोगी विरामीको संख्या बढ्दै गइरहेको कार्यालयको भनाई रहेको छ ।
पाँच पालिकामा उच्च क्षयरोगी दर
सुदूरपश्चिममा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकामध्ये पाँच पालिकामा उच्च क्षयरोगीको दर रहेको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार बाजुराको बडिमालिका नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा उच्च क्षयरोगी दर रहेको छ । निर्देशनालयका अनुसार बडिमालिकामा दुई सय १९, दोधारामा दुई सय ९५, महाकालीमा दुई सय ६१, बेलडाँडीमा दुई सय ४३ र लालझाँडीमा दुई सय ९७ क्षयरोगी रहेका छन ।

निर्देशनालयका अनुसार कैलाली सबैभन्दा बढी बिरामी धनगढी उपमहानगरपालिका ४२९ जना सबै भन्दा कम मोहन्याल २२ जना, कञ्चनपुर सबैभन्दा बढी बिरामी भीमदत्त नगरपालिका २२६ जना सबै भन्दा कम बेल्डाँडी ५१ जना रहेको उल्लेख छ ।
दश सबैभन्दा बढी बिरामी भएका पालिका मध्ये ६ कैलाली तथा ४ कञ्चनपुरमा स्थानीय तह रहेका छन भने सबै भन्दा कम बिरामी भएको पालिकामा बाजुराको जगन्नाथ गाउँपालिका रहेको छ । जहाँ दुई जनामात्र क्षयरोगी विरामी रहेका छन ।
बाजुरामा क्षयरोग मुक्त लागु हुन सकेन
सुदूरपश्चिमको नौ जिल्लामध्ये बाजुरामा अझै क्षयरोग मुक्त अभियान लागु हुन सकेको छैन । देशभरीमै ११ जिल्लाहरुमा अभियान लागु हुन नसकेकोमा यहाँ बाजुराबाहेक अन्य जिल्ला तथा स्थानीय तहहरुमा अभियान लागु भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म १९ स्थानिय तहहरुमा क्षयरोग मुक्त अभियान लागु भइसकेका छन । हाल विश्वव्यापी क्षयरोग अन्त्यको रणनीति अनुरुप नेपालले पनि क्षयरोग अन्त्यको रणनीति २०५० अवलम्वन गरेको छ । जसअनुसार नेपाल सरकारले सन् २०५० मा प्रति दश लाख जनसंख्यामा एक जनाभन्दा कम गर्ने लक्ष्य राखेको छ । रणनीति अन्तर्गत क्षयरोग, एचआईभी, एमडिआर क्षयरोग, बच्चामा क्षयरोग पत्ता लगाउने, निजी–सरकारी–साझेदारी, सक्रिय विधिबाट क्षयरोग पत्ता लगाउने, विरामी मैत्री क्षयरोग उपचार सेवा आदि विषयहरु प्रथामिकतामा राखेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोजप्रसाद ओझाले बताए ।
उनले क्षयरोगका विरामीहरुले औषधी विचमै खान छोड्ने, उपचार पद्दतीमा नआउने लगायतका कारणले प्रदेशमा क्षयरोगका विरामीको संख्यामा कमी आउन नसकेको बताए ।
कैलालीमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्या
कैलाली जिल्लामा क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याको रुपमा रहेको छ । कैलालीमा प्रत्येक वर्ष एक हजार दुई सयदेखि एक हजार तीन सयको हाराहारीमा नयाँ बिरामी फेला पर्ने गरेका छन् । भने ५० देखि ६० जनाको मृत्यु हुने गरेको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म आठ सय १२, आर्थिक वर्ष ०८१/८२ मा एक हजार पाँच सय १३ जना, आर्थिक वर्ष ०८०/८१ मा एक हजार पाँच सय ६६ र आर्थिक वर्ष ०७९/८० मा एक हजार तिन सय २८ क्षयरोग विरामी रहेका थिए ।
जिल्लामा जनसंख्याको उच्च चाप, बसाई सराई, नजिक तथा खुल्ला सिमाना, गरिवी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौति रहेको स्वास्थ्यकर्मीहरु बताउँछन । विरामी तथा विरामीको परिवारमा जनचेतनाको कमि र नाजुक आर्थिक अवस्थाका कारण विरामी विचैमा औषधि छोडी रोजगारीका लागि भारत जानेहरुको संख्याका कारण चुनौति बन्दै गएको उनीहरुको भनाई छ ।
















