खाेज्नुहाेस

कैलाली कञ्चनरपुरमा देखियो अफ्रिकन स्वाइन फिभर

Image

तिलकराज ओझा/धनगढी– कैलाली–कञ्चनपुरमा बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर सङ्क्रमण पुष्टि भएको छ । व्यावसायिक रूपमा पालिएका बङ्गुरमा गरिएको परिक्षणबाट सो रोग पुष्टि भएको हो ।

उच्च ज्वरो आउने, दानापानी खान छोड्ने, शरीरका विभिन्न भागमा रातो तथा नीलो धब्बा देखिने र अचानक मर्न थालेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले प्राविधिक परिक्षण गरेको थियो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले सङ्कलन गरेका नमुनालाई थप परीक्षणका लागि काठमाडौँस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो ।

attariya hospital
navjiwan hospital

त्यहाँ पीसीआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण प्रमाणित भएको वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिएका छन् । हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरमा रोग देखिएको पुष्टि भएको उनले बताए ।

अफ्रिकन स्वाइन फिभर बङ्गुर, सुँगुर तथा जङ्गली बँदेलमा लाग्ने अत्यन्त सङ्क्रामक र घातक भाइरल रोग हो । यो रोग फैलिएको अवस्थामा पूरै बथान नै नष्ट हुन सक्ने भएकाले बङ्गुरपालक किसानलाई विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ । रोग मानिसमा नसर्ने भए पनि यसबाट हुने आर्थिक क्षति अत्यन्त ठूलो हुने र विशेषगरी साना तथा मध्यम किसान प्रत्यक्ष प्रभावित हुने बताइएको छ ।

संक्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, झोक्रिने, एकै ठाउँमा थुप्रिएर बस्ने, नाकबाट फिँज निकाल्ने, बान्ता तथा पखाला लाग्ने र छालामा रातो वा नीलो धब्बा देखिने जस्ता लक्षण देखिने जनाइएको छ । यस्ता लक्षण देखिएको केही दिनमै बङ्गुर मर्ने सम्भावना रहने चिकित्सकहरूले बताएका छन् ।

सम्बन्धित निकायले बङ्गुरमा अस्वाभाविक लक्षण देखिएमा वा अचानक मर्न थालेमा लुकाएर नराखी तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जानकारी गराउन किसानलाई आग्रह गरेको छ । समयमै सतर्कता अपनाएमा रोगको फैलावट नियन्त्रण गर्न सकिने विश्वास गरिएको छ ।