धनगढी– कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम आलेले रक्तदान गरेका छन । शनिबार कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा बैतडी समाज कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रममा उनले रक्तदान गरेका हुन ।

समाजसेवा र मानवताको भावनालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रममा सहभागि भएको उनले बताए । उनले रगत अभावका कारण बिरामीले दुःख पाउनु नपरोस् भन्ने उद्देश्यले आफूले रक्तदान गरेको बताए । ‘रक्तदान जीवनदान हो, सबै स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्छ’ उनले भने ।

कार्यक्रममा नेपाल प्रहरी, निर्वाचन प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
















