अत्तरिया – कैलालीको धनगढीबाट एकै दिन लागू औषध सहित ७ जना पक्राउ परेका छन् । मंगलबार धनगढी, बर्दगोरीया, गोदावरीबाट ७ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा ६ जना २७ वर्षका र १ जना २४ वर्षका युवा रहेका छन् ।

धनगढी उपमहानगरपालिका – १ पुष्पलाल चोक नजिक भित्री सडक खण्डबाट ३ ग्राम ९९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित भीमदत्त नगरपालिका – १९ बागफाटा घर भई हाल धनगढी – १ बस्ने २७ वर्षीय सुनिल चौधरी पक्राउ परेका छन् ।
यस्तै धनगढी – १३ बाट १७० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित स्थानीय २७ वर्षीय बल बहादुर चौधरी पक्राउ परेका छन् ।

बर्दगोरिया गाउँपालिका – २ बौनियाँगाँउबाट १ ग्राम २७० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित स्थानीय २७ वर्षीय सुनिल कुमार चौधरी र २७ वर्षीय रति राम थारु पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका – १३ राजपुरबाट २७० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित गोदावरी नगरपालिका – ३ का २४ वर्षीय विनोद ओड पक्राउ परेका छन् ।
यस्तै गोदावरी नगरपालिका – ३ स्थित ग्याँस कम्पनी नजिकबाट ७५० मिलिग्राम लागू औषध खैरो हेरोइन र नापतौल गर्ने तराजु सहित स्थानीय २७ को अनुज रावत र गोदावरी – ११ का २७ वर्षीय मोहन बडैला पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।




















