बैतडी– बैतडीमा २ हजार ४०० बढी किशोरीलाई एचपीभि खोप लगाईने भएको छ । जिल्लामा मंगलबारदेखी फागुन २ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २ हजार ४५३ किशोरीलाई एचपीभी खोप लगाईने भएको हो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने सो खोप जिल्लाका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्षका किशोरी र गत वर्षको अभियानमा खोप लगाउन छुटेका किशोरीलाई लगाईने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए ।

जिल्लामा यो वर्ष कक्षा ६ मा पढ्ने २ हजार ३८६ जना, गत वर्ष छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका ६ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको उनले बताए । गत वर्ष जिल्लाभर कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका गरी कुल १० हजार ३१० जना किशोरीलाई यो खोप लगाइएको थियो ।
यस वर्षको अभियानका लागि सबै स्थानीय तहले आफ्नो क्षेत्रमा तयारी पूरा गरिसकेका छन् भने प्रत्येक विद्यालयलाई खोप केन्द्रको रूपमा तोकिएको छ । स्वास्थ्यकर्मीहरूले यो खोप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै सबै अभिभावकलाई आफ्ना छोरीहरूलाई निर्धक्क भई खोप लगाउन आग्रह गरेका छन् । गत वर्ष विशेष अभियानका रूपमा सञ्चालन गरिएको यो खोपलाई यस वर्षदेखि सरकारले नियमित खोप तालिकामा समेत समावेश गरेको छ ।
















