धनगढी – कैलालीको धनगढीमा निजी लगानीमा क्रिकेट मैदान निर्माण गर्न लागिएको छ । धनगढी उपमहानगरपालिका– ३ फाप्ला मैदान नजिकै फाप्ला खेलग्रामका अध्यक्षसमेत रहेका सुवाश शाही र मोहन साउँदको लगानीमा क्रिकेट मैदान निर्माण गर्न लागिएको हो ।

५ बिगाहा बिगाह क्षेत्रफलमा निर्माण हुने क्रिकेट मैदानमा पार्क समेत निर्माण गरिने छ । अध्यक्ष शाहीले अन्तर्राष्ट्रिय मापदण्डअनसार नै ६५ देखि ७५ मिटरसम्मको बाउण्ड्री रहने गरी क्रिकेट मैदानमा ५ वटा पिच बनाइने बताए । उनले रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तयार गरेका क्युरेटर माधव पाठकले पिच निर्माण गरिरहेको बताए ।

उनले पहिलो चरणमा पिच निर्माण, इरिगेसन र ड्रेनेज प्रणाली जडानको काम भइरहेको र, दोस्रो चरणमा पवेलियन, चेन्जिङ रुम तथा नेट अभ्यास गर्ने ठाउँ तयार गरिने, तेस्रो चरणमा प्याराफिट निर्माण र फ्लड लाइट जडानको काम सँगै मैदानको बाहिरपट्टीको भागमा फुड कर्नरदेखि अन्य व्यवसायिक स्टलहरु पनि तयार गरिने बताए ।
















