अत्तरिया – सुदूरपश्चिमको ट्रान्जिट पोइन्टको रूपमा रहेको अत्तरिया क्षेत्रमा चुनाव लक्षित गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कैलाली क्षेत्र नम्बर ४ अन्तरगत पर्ने यो क्षेत्रमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
यस क्षेत्र भएर अन्य ठाउँमा पनि सुरक्षा चुनौतीका गतिविधि हुन सक्ने भएकाले प्रहरीले अत्तरिया बजार क्षेत्रमा निगरानी बढाएको छ । सो क्रममा प्रहरीले सोमबार अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरेर सवारी साधन चेकजाँच गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सँगको सहकार्यमा अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरी सधारीसाधनहरुमा चेकजाँच गरेको हो ।

गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाएर लामो तथा छोटो दूरीमा चल्ने बसहरूमा चेकजाँच गरिएको बताए ।

उनले फागुन २१ गते हुन लागेको चुनाव लक्षित गरेर विशेष चेकजाँच गरिएको बताए । विस्फोटक पदार्थ, हातहतियार तथा लागू औषध ओसारपसार रोक्ने उद्देश्यले चेकजाँच गरिएको उनले बताए । अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी यो अभियान हप्तामा कम्तीमा एक दिन, जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिने बताइएको छ ।
सोमबार एक दर्जनभन्दा बढी सवारी साधन चेकजाँच गरिएको भए पनि कुनै पनि विस्फोटक पदार्थ वा लागूऔषधजन्य सामग्री फेला नपरेको डिएसपी चन्दले जानकारी दिए । बसपार्कमा प्रहरीले विस्फोटक पदार्थ चेकजाँच गर्ने र लागू औषध चेकजाँच गर्ने छुट्टा छुटै कुकुर प्रयोग गरेको थियो ।
डिएसपी चन्दले क्षेत्रमा सुरक्षाका लागि छुटै रणनीति नहुने भए पनि आवश्यक सुरक्षा प्रबन्ध भने गरिने बताए । उनले जिल्लाबाट भएको निर्देशन अनुसार आवश्यक सुरक्षा रणनीति तय गरिने बताए ।
हाल कैलाली क्षेत्र नम्बर ४ मा सुरक्षाका लागि ३६० जना निर्वाचन प्रहरीलाई पनि तालिम दिइँदै छ । सुरक्षाका लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सँगै निर्वाचन प्रहरी पनि परिचालन गरिने बताए । कैलाली क्षेत्र नम्बर ४ मा ५७ मतदान स्थलमा १३६ केन्द्रमा मतदान हुनेछ । यहाँ १ लाख १५ हजार १४३ मतदाता रहेका छन् ।



















