अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा अवस्थीत मष्टाधाममा शिला राखिएको छ । सोमबार मष्टाधाममा रहेका ३ मुख्य सहित १२ वटै धामहरुमा शिला राखिएको हो ।
मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले १२ वटा मष्टाधाममा शिला राखिएको बताए । उनले मष्टका मुख्य ३ वटा दुधे मष्टा, दाडे मष्टा र जलान्धरी मष्टामा पनि मष्ट देवताको शिला राखिएको बताए । त्यसबाहेक ४ पञ्चाङ्गनमा मुर्ति स्थापित गरिएको अध्यक्ष साउँदले बताए । उनले पञ्चाङ्गनमा कालिका, गणेश, बिष्णु र लक्ष्मीको मुर्ति स्थापित गरिएको बताए ।


दुधे मष्टामा शिला राख्दा देखियो सर्प
यसैबिच धाममा रहेको दुधे मष्टामा शिला राख्ने क्रममा सर्प देखिएको छ । शिला राख्ने क्रममा दुधे मष्टाको मन्दिरमा सर्प देखिएको अध्यक्ष साउँदले बताए । सर्प देखिने सिजन नभएपनि मन्दिरमा सर्प देखिनुलाई देवताको चमत्कारका रुपमा लिन थालिएको छ । अध्यक्ष गणेश साउँदले मष्टाधाम स्थापना गर्नुपुर्व नै धामीले मन्दिरमा सर्पको रुपमा देवताले दर्शन दिने बताएको जानकारी दिए ।

‘मष्टाधाम स्थापना गर्नुपुर्व २०७५ सालमा उक्त स्थानमा मन्दिर स्थापनाका लागि धामीलाई हेराउदा धामीले हामीलाई शिला राख्ने क्रममा देवताले सर्पको रुपमा दर्शन दिने बताउनुभएको थियो’ उनले भने ‘आज शिला राख्ने क्रममा ७ वर्ष पछि धामीले भने जस्तै देवताले सर्पको रुपमा दर्शन दिनुभएको हो ।’ उनले धाममा सर्प देखिएपछि स्थानिय भक्तजनहरुको भिड लागेको र सबैले दर्शन गरेको बताए । उक्त केही समय पछि सर्प चमत्कारीक रुपमा गायब भएको समेत उनले बताए ।
















