कमला सापकोटा, अत्तरिया – कैलालीको चुरे गाउँपालिका – ५ खानी डाँडामा पिकनिक स्पोट निर्माण कार्य अघि बढाइएको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेटबाट चुरे गाउँपालिकाको कार्यालयले १० लाखको लागतमा पिकनिक स्पोटको काम सुरु गरेको हो । वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर धामीले खानीडाँडा क्षेत्र प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा स्वच्छ हावापानीका कारण आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएकोले त्यसलाई थप आकर्षक बनाउन पिकनिक स्पोट बनाउन लागिएको बताए ।
उनले उचित व्यवस्थापन र आधारभूत संरचनाको कमीका कारण यहाँ आउने पर्यटकले लामो समय बस्न नसक्ने अवस्था भएकाले त्यसका पिकनिक स्पोट निर्माणको योजना कार्यान्वयनमा ल्याइएको बताए ।


हाल खानीडाँडा बजार नजिकै निर्माण भइरहेको पिकनिक स्पोटमा पर्यटकको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानीको सुविधा, स्वच्छ शौचालय तथा आरामका लागि बस्ने ट्रस्ट निर्माण गरिने वडा अध्यक्ष धामीले जानकारी दिए । उनले यस संरचनाले पर्यटकलाई सहज वातावरण उपलब्ध गराउने र क्षेत्रको आकर्षण थप बढाउने विश्वास व्यक्त गरे ।
यसैबिच स्थानीय साना व्यवसायी गोपाल धामीले पिकनिक स्पोट निर्माणले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । उनले अनुसार पिकनिक स्पोट सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकहरूले किसानका स्थानीय उत्पादनहरू खरिद गर्ने सम्भावना बढ्नेछ, जसले कृषकलाई प्रत्यक्ष रूपमा बजार उपलब्ध गराउन सहयोग पुग्ने बताए ।
‘पिकनिक स्पोट बनेपछि यहाँ तरकारी, फलफूल, दूधजन्य पदार्थजस्ता स्थानीय उत्पादनको माग बढ्छ, यसले किसानलाई फाइदा पु¥याउनुका साथै चिया पसल, होटल, साना किराना पसलजस्ता व्यवसायहरू पनि फस्टाउन सक्छन्,’ उनले भने ।
स्थानीय बासिन्दाहरूले पनि पिकनिक स्पोट निर्माणले खानीडाँडाको पर्यटन सम्भावनालाई उजागर गर्दै रोजगारी सिर्जना र गाउँको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन् । स्थानीय स्रोत र साधनको संरक्षण गर्दै पर्यटन विकासमा जोड दिन सके चुरे गाउँपालिकाको यो पहल उदाहरणीय बन्न सक्ने उनीहरूको धारणा छ ।

















