अत्तरिया – सुदूरपश्चिमका युवालाई नै सीप सिकाउने उद्देश्यका साथ धनगढीले उपमहानगरपालिकाले दोस्रो संस्करणको सीप तथा रोजगार मेला सुरु गरेको छ । सुदूरपश्चिमका ८३ वटा पालिकाका ६ सय प्रशिक्षार्थी सहभागी सीप तथा रोजगार मेला सोमबार देखि धनगढीमा सुरु भएको हो ।
उक्त मेलाको सुदूरपश्चिमका ५१ वटा पालिकाका जनप्रतिनिधिको सहभागितामा संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले उद्घाटन गरेका थिए । सीप तथा रोजगार मेलामा ७ विधाका २२ वटा सीप सिकाइने जनाइएको छ । सीप तथा रोजगार मेलामा सीप मात्रै नसिकाएर प्रशिक्षार्थीलाई रोजगारीका अवसर प्रदान गर्न र उद्यमी बन्ने वातावरण पनि मेलाबाट प्रदान गरिने छ ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिममा नयाँ अभ्यासका रूपमा मेलाको आयोजना गरिएको बताए । उनले स्थानीय स्तरको माग र आवश्यकता अनुसार तालिम दिन आवश्यक भएकाले सोही अनुसार धनगढी उपमहानगरपालिकाले युवालाई सीप दिन थालेको बताए ।
उनले अब यो तालिमलाई सुदूरपश्चिमका सबै पालिकाको अपनत्व हुने गरी तालिम आयोजना गर्न आवश्यक रहेको बताए । ‘अब हामी तालिम पनि दिऊ, तालिमबाट उत्पादन भएका बस्तुलाई बजार सँग जोडौँ’ उनले भने ‘धनगढी सबैको साझा बजार हो । त्यसले सुदूरपश्चिमका दुर् दराजमा उत्पादन भएका बस्तु धनगढीमा ल्याएर बिक्री गरौँ ।’

उनले दुई वर्ष देखि धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलालाई साझा मञ्च बनाउन खोजेको बताए । ‘अब यो तालिमको आयोजक सबै बनौँ । आयोजक सुदूरपश्चिमका सबै स्थानीय तह बनाऔँ’ उनले भने ।
तालिमको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले उपमहानगरपालिकाले आयोजना गरेको सीप मेलाबाट उत्पादन भएका जनशक्तिले बजारको माग सँग जोड्न आवश्यक रहेको बताए । उनले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको तालिमले सुदूरपश्चिम नै लाभान्वित हुने बताए । उनले विकासका लागि प्रकृति र संस्कृति चाहिने भएकाले त्यसको फ्युजन भएमा विकास हुने बताए । ‘विकासका लागि प्रकृति र संस्कृति चाहिन्छ । त्यसको अपार सम्भावना सुदूरपश्चिममा छ’ उनले भने ‘हामीले यी दुवै कुरा जोड्न नसकेर विकास नभएको हो ।’ उनले संस्कृतिमा केही विकृति भएकाले त्यसमा भने सुधार गर्न आवश्यक रहेको बताए । उने युवाहरूलाई श्रम सँग जोड्न नसक्दा सम्म देशको विकास गर्न नसकिने भएकाले त्यसका लागि युवालाई काउन्सिलिङ गर्न आवश्यक रहेको बताए ।
जयपृथ्वी नगरपालिका नगरप्रमुख चेतराज बजालले सुदूरपश्चिमको उपयुक्त ठाउँ धनगढी भएकाले सीप मेलाले प्रदेशका सबै पालिकाले फाइदा लिन सक्ने बताए । उनले सुदूरपश्चिमको गरिबीले यस क्षेत्रको नेताको सिर निहुरिने गरेकाले सीप तथा रोजगार मेलाले यसमा केही सुधार हुने विश्वास व्यक्त गरे । ‘यसमा चुनौती पनि छ । तालिम सिकाएर युवाहरूलाई रोजगार सँग जोड्न सक्छौ कि सक्दैनौ भन्ने चुनौती छ’ उनले भने ।
अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट अहिले ओरालो भर्ने क्रम बढेको बताउँदै उनले गोदावरीको पुलले सुदूरपश्चिमलाई कहिले जोड्ने भन्ने गम्भीर प्रश्न रहेको बताए ।
उनले पहाडबाट तराइतर्फ अवसर बढ्दा जनसङ्ख्या तल झरिरहेको बताउँदै अब अवसरलाई पहाडमा उकाल्न आवश्यक रहेको बताए । उनले यस्ता सीप तथा रोजगार मेलाले पहाडमै अवसर सृजना हुने विश्वास व्यक्त गरे ।
उपमहानगरपालिकाले मंगलबार देखि एक महिना सम्म ७ वटा क्षेत्रमा २२ वटा तालिम सञ्चालन गर्दै छ । जसअन्तर्गत अटोमोबाईल क्षेत्रमा इलेक्ट्रिकल कार र मोटरसाइकल, स्कुटर मर्मत तालिम, निर्माण क्षेत्रमा फर्निचर, प्लम्बिङ, बिल्डिङ इलेक्ट्रिकल वायरिङ, आतिथ्य सत्कार क्षेत्रमा कफि वारिस्ता, फास्ट फुड÷कुक, वेटर÷वेट्रेस, बेकरी तालिम, इलेक्ट्रिकल तथा मेकानिकल क्षेत्रमा बेल्डिङ्ग, रिफ्रिजेनेटर एसी प्राविधिक, सूचना प्रविधि क्षेत्रमा डिजिटल मार्केटिङ, इलेकट्रोनिक्स (मोबाइल, सिसिटिभी), फोटोग्राफी तथा ड्रोन अपरेसन, शैक्षिक तथा सेवा क्षेत्रमा ईसीडी शिक्षक, पुरोहित लेखा व्यवस्थापन, एडभान्स ब्युटिसियन, हेयर कटिङ र आर्ट क्राफ्ट डिजाइनिङ क्षेत्रमा बुटिक तथा कडाइ, सांस्कृतिक पोसाक निर्माण, बेत बास क्राफ्ट हस्तकला सामग्रीका तालिम रहेका छन् । एक महिना सञ्चालन हुने तालिम १८० घण्टाको पाठ्यक्रमका आधारमा हुने जनाइएको छ ।
तालिम पश्चात् रोजगार कार्यशाला गरेर २ दिनको रोजगार मेला आयोजना गरिने रोजगार संयोजक चन्द्र बहादुर महराले बताए । धनगढी उपमहानगरपालिकाले गत वर्ष देखि सीप तथा रोजगार मेला आयोजना गर्दै आएको छ ।



















