अत्तरिया – गोदावरी नगर स्तरीय थारु माघ महोत्सव २०८२ हुने भएको छ । थारू समुदायको हराउँदै गरएको लोककला, रिती संस्कृति, संरक्षण सम्र्बद्धन तथा पहिचान बचाउन गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा महोत्सव हुन लागेको हो ।
थारू कल्याणकारिणी सभा गोदावरी नगरसमिति, बरघर भलमन्सा नगरसमिति, मजगाउँ थारु समुदायिक होमस्टे र न्यू खुँटिया चारपाटे युवा क्लबको आयोजनामा हुने महोत्सव माघ १२, १३ र १४ गते तीन दिन सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको छ ।


‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिन लागेको थारु कल्याण कारिणी सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले बताए । उनले थारू समुदायको लोककला, रितीसंस्कृति, गीतबास, रितीरिवाज, चालचलन बोलीभाषा संरक्षण सम्बद्धनका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।
थाकस कैलालीका पूर्व कार्यवाहक सभापति माधव चौधरीले थारू समुदायको संस्कृति संरक्षण तथा ऐतिहासिक बस्तुहरु जगेर्ना गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिन लागेको बताए । यसका साथै उनले स्थानीय पर्यटन, आधुनिक कृषि प्रवर्धन र पर्यावरण संरक्षणका लागि पनि महोत्सव आयोजना गरिन लागेका बताए ।
महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शनका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा ऐतिहासिक थारू खानपानको व्यवस्था, थारू कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारू समाज सेवा तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहने छ ।













