अत्तरिया– कैलालीको अत्तरियामा संचालित करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको उपाधी अनुपमा अलराउन्डर्सले हात पारेको छ । शनिवार भएको सातौ संस्करणको फाइनल खेलमा कैनोडा लायन्सलाइ ३१ रनले पराजित गर्दै अनुपमाले लगातार दोस्रो पटक उपाधी जित्न सफल भएको हो ।
टस जितेर ब्याटिङ रोजेको अनुपमाले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । उसका लागि छैटौ नम्बरमा ब्याटिङमा आएका प्रेम साउँदले ४० रनको पारी खेले । त्यसबाहेक सरोज सुनारले १९ रन र महेन्द्र चन्दले १६ रन बनाए । अनुपमाले १० रन अतिरिक्त रुपमा पाएको थियो । बलिङ कैनोडाका सुरेश सिँ पुजाराले ३ विकेट लिए । ३ दशमलव २ ओभर बलिङ गरेका उनले १७ रन मात्रै खर्चिएका थिए । त्यसबाहेक चित्र भुषण चन्द र लोकेन्द्र सिँ थापाले समान २/२ विकेट लिए ।


१३४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको कैनोडा लायन्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १०२ रन मात्रै बनाउन सक्यो । अनुपमालाई जिताउन बलरहरुले मुख्य भुमिका निर्वाह गरे । बलिङमा अनुपमाका मनोज घटाल, प्रेम साउँद र एकिन्द्र बहादुर बलमे समान ३/३ विकेट लिए । जसमा प्रेम साउँदको बलिङ स्पेल एकदमै किफायती रह्यो । ४ ओभर बलिङ गरेका उनले १४ डट बल फालेका थिए भने १० रन मात्रै खर्चिएका थिए ।
उपाधी जितेसँगै अनुपमाले नगद रु. १ लाख २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको कैनोडा लायन्सले नगद रु. ६५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा कैनोडा लायन्सका खेलाडी लोकेन्द्र सिँ थापा बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । तिन ओटै पुरस्कार प्राप्त गरेका उनले ब्याटिङमा सबै भन्दा बढी २५७ रन बनाएका थिए भने बलिङमा पनि सबै भन्दा बढी २१ विकेट लिएका थिए । त्यसबाहेक ७ क्याच सहित लिएका उनलाई तिन ओटै उपाधी प्राप्त भएको हो । उनले बेस्ट ब्याट्सम्यान र बेस्ट बलरको समान १०/१० हजार सहित ट्रफी र प्लेयर अफ द टुर्नामेन्टको नगद रु. १५ हजार सहित ट्रफी प्राप्त गरे ।
विजेता टिम तथा खेलाडीहरुलाई एक औपचारीक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो । आयोजक पिएफए युवा क्लबकी उपाध्यक्ष भगवती साउँदको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी रहेका थिए ।
अनुपमाले यसअघि छैटौ संस्करणको उपाधी समेत उचालेको थियो । डिफेन्डीङ च्याम्पीयन बनेको अनुपमाले सातौ संस्करणमा पनि आफ्नो उक्त ताज बाहिर जान दिएन ।















