काठमाण्डौ– इन्डियन प्रिमियर लिग (आईपिएल) को मिनि अक्सन मंगलबार सम्पन्न भएको छ । जसमा अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रीन आईपीएल इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन ।

मंगलबार भएको खेलाडी लिलामीमा उनी २५ करोड २० लाख भारतीय रुपैयाँमा बिक्री भए । उनलाई सन् २०२६ को संस्करणका लागि कोलकाता नाइट राइडर्सले यति रकममा खरिद गरेको हो । यसअघि सन् २०२४ को खेलाडी लिलामीमा मिचेल स्टार्कका लागि कोलकाताले नै २४ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चेको थियो ।

प्रतियोगिताको इतिहासमै ग्रिन तेस्रो महँगो खेलाडी भएका छन् । त्यस अगाडि ऋषभ पन्त २७ करोड र श्रेयस अयर २६ करोड ७५ लाख भारुमा बिक्री भएका थिए । ग्रिनले यसअघि मुम्बई इन्डियन्स र डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुका लागि खेलिसकेका छन् । उनले आईपीएलका २९ खेलमा ७०७ रन बनाइसकेका छन् । गत सिजन भने उनले चोटका कारण खेलेनन् ।

















