अत्तरिया– कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीमा प्रथम सत्यवती छात्र फुटबल कप सुरु भएको छ । सोमबार एक औपचारीक कार्यक्रमका बिच विद्यालयमा प्रतयोगिता सुरु भएको हो ।
कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरु मात्रै सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको सोमबार निजि तथा आवाशिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) केन्द्रिय कमिटीका सल्लाहकार जगविर थापाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले नगरमा ३ वटा विद्यालयले फुटबल फेस्ट मनाउने भन्दै कार्यक्रम सञ्चालन गरेको बताए । उनले सो कार्यक्रम अन्र्तगत कक्षा ८ सम्म ज्ञानज्योती एकेडेमीले प्रतियोगिता आयोजना गरेको बताउदै कक्षा ६ सम्म का विद्यार्थीहरुका लागि सत्यवतीले आयोजना गरिरहेको र कक्षा ८ सम्मको छात्राहरुको प्रतियोगिता एभरेष्ट एकेडेमीले गर्ने बताए ।


उनले विद्यार्थीहरुमा सानै देखी फुटबल प्रति मोह बढ्ने बढाउन र उनिहरुको ग्याजेट्स प्रतिको मोह घटाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । ‘अहिलेको बालबालिकाहरुमा डिजिटल ग्याजेट एडिक्सन प्रतिको लगाव बढी छ, त्यसलाई कम गराउन र फुटबल खेलप्रति विद्यार्थीहरुको अभिरुची जगाई उनिहरुको शारिरीक स्वस्थ राम्रो बनाउनका लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौ’ उनले भने ।
उनले बच्चाहरु अहिले मोबाईलमा डिजिटल रुपमा खेल खेल्ने गरेको बताउदै डिजिटल्ली फुटबल खेल्नु भन्दा फिजिकल्ली रुपमा फुटबल खेलेर स्वस्थ रहोस भन्ने सोच रहेको बताए । ‘अहिलेका साना बच्चाहरु मोबाईलमा खेल खेल्छन, त्यसैले उनिहरुलाई ग्याजेट्स प्रति आर्कषित हुने गर्दछन’ उनले भने ‘तर हामीले उनिहरु फिजिकल्ली खेल खेलुन र उनिहरुको स्वास्थ्य राम्रो होस भन्ने उद्देश्यले सानै देखी खेलकुदमा रुची जगाउन यो प्रतियोगिता आयोजना गरेका हौ ।’ बच्चाहरुमा सानै देखी खेलप्रति रुची बढाउनका लागि पनि प्रतियोगिता फलदायी सावित हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सत्यवती एकेडेमीकी प्रिन्सिपल यशोदा ध्याडी कडायतले प्रतियागितामा नगरभित्रका २३ वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको बताईन । उनले साना बालबालिकाहरुलाई फुटबल प्रतिको रहर पुरा गर्नका लागि र ग्याजेटबाट बाहिर निकाल्नका लागि प्रतियोगिता आयोजना गरिएको बताईन । उनले खेलप्रति बढी भन्दा बढी आर्कषण गराउन र उनिहरुको मानसिक र शारिरीक स्वास्थ्यलाई सुधार्नका लागि विद्यालयले प्रयास स्वरुप प्रतियोगिता आयोजना गरेको बताईन ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. २० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद रु. १० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, गोलकर्ता, डिफेन्डर र प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।













