अत्तरिया – कैलालीको गोदावरीमा ११ गैर सरकारी संस्था (एनजिओ) ले नगरपालिका सँग समन्वयन गरेका कार्यक्रम सञ्चालन गरिरहेका छन् । यी संस्थाहरूले चालु आर्थिक वर्ष २०८२/८३ मा नगर भित्र गर्ने कार्यक्रम नगरपालिकाको रातो किताबमै प्रकाशित गरेर कार्यक्रम सञ्चालन गरिरहेका हुन ।
संघसस्थाले गर्ने अधिकांश कार्यक्रम मानवीय विकासका रहेका छन् । नगरपालिकाको चालु आर्थिक वर्षको रातो किताबमा उल्लेख गरिए अनुसार मुक्त कमैया महिला विकास मञ्च धनगढीले गोदावरीमा ४२ लाख २३ हजार १५० रुपैयाँका कार्यक्रम गर्दै छ । जसमा विभिन्न तालिम, सामाग्री सहयोग, छलफल अन्तरक्रिया कार्यक्रम रहेका छन् । यस्तै महिला पुनस्र्थापना केन्द्र (ओरेक) धनगढीले ५ लाख २४ हजार ४४९ रुपैयाँका कार्यक्रम गर्दै छ । जसमा पनि तालिम, जनचेतनाका कार्यक्रम रहेका छन् ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहले १० लाख २८ हजार खर्च गर्दै छ । जसअन्तर्गत पनि महिला सशक्तीकरण, क्षमता विकास, तालिम लगायतका कार्यक्रम रहेका छन् ।
निड्स नेपाल कञ्चनपुरले ९० लाख ८० हजार ४ सयका कार्यक्रम रहेको विवरण उपलब्ध गराएको छ । जसमा आप्रवासी कामदारहरूको पहुँच अभिवृद्धि, सामाजिक सुरक्षा, बाल मैत्री स्थानीय शासन र अपाङ्गता सशक्तीकरण कार्यक्रम, सामाजिक लैगिक उत्तरदायित्व कार्यक्रम रहेका छन् ।

ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठी (रेष्ट)ले १ करोड ६४ लाख ६१ हजार ६७१ रुपैयाँको कार्यक्रम गर्दै छ । जस अन्तरगत मानव बेचबिखन रोकथामका कार्यक्रम रहेका छन् । विद्यालयमा हुने उक्त कार्यक्रमबाट २० विद्यालयका ६७० विद्यार्थी लाभान्वित हुने बताइएको छ ।
यस्तै इपिक नेपाल परियोजना तथा मानव अधिकार परियोजनाले ३ लाख ४० हजार खर्च गर्ने प्रस्ताव गरेको छ । जसमा एचआइभी, यौन रोग सँगै लैगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि कार्यक्रम रहेका छन् ।
विकासका लागि युवा ऐक्यबद्धता (यार्ड)ले बाल संरक्षणका लाग महिला सशक्तीकरण परियोजनाका लाग ६९ लाख ३२ हजार ७७० रुपैयाँ खर्च गर्दै छ ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह कैलालीले ७ लाख १६ हजारको कार्यक्रम गर्दै छ । जसमा एकल महिलाको तथ्याङ्क सङ्कलन, सचेतना कार्यक्रम, उद्यम तालिम लगायतका कार्यक्रम रहेका छन् ।
यस्तै परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल (याक नेपाल) धनगढीले एक करोड ३ लाख ९ हजार ९६३ रुपैयाँका कार्यक्रम गर्दै छ । जसमा खाद्य अधिकार सम्बन्धीका कार्यक्रम रहेका छन् ।
यस्तै परिलक्षित (फरवार्ड लुकिङ्ग) पनि २० लाखका कार्यक्रम गर्दै छ । जसमा पोषण, छात्रवृत्तिका कार्यक्रम, अपाङ्गताका क्षेत्रमा विभिन्न कार्यक्रम रहेका छन् ।
महिला जागरण तथा विकास केन्द्र काठमाण्डौंले समुदायको पहुँच सुनिश्चितताको लागि सशक्तीकरण र क्षमता निर्माण परियोजना अन्तरगत गोदावरीमा ८ लाख ८२ हजार ३६६ रुपैयाँ खर्च गर्दै छ । जस अन्तरगत सीमान्तकृत महिला बालबालिकाको न्यायमा पहुँचका कार्यक्रम, सीमान्तकृत महिला बालबालिकाको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम रहेका छन् ।

















