अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको सुन्दर सुदूरपश्चिम कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष हरिदत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् अत्तरिया कृषि हाटबजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नन्दलाल भट्ट रहेका थिए ।
२०७२ साल मंसिर १५ गते अत्तरियास्थित सब्जीमण्डीमा रहेका ५८ जना कृषक एवम् व्यापारीहरुले मिलेर सञ्चालन गरेको सहकारी २०७६ साल वैशाख २२ गते नगरपालिकामा विधिवत रुपमा दर्ता भएको थियो । संस्थामा आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म आईपुग्दा ६४४ जना शेयरसदस्य पुगेका छन भने ५९ लाख ३४ हजार शेयरपुँजी रहेको छ ।



अत्तरियाक्षेत्रका गरिब एवम् विपन्न साना, मझौला तरकारी तथा फलफुलको व्यवसाय गर्ने व्यवसायी र कृषकहरुको अवस्थालाई सम्बोधन गर्ने सोचका साथ सहकारीको अवधारणा अघि बढाईएको अध्यक्ष भट्टले बताएका छन् । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले स्थानिय समाजसेवी, बुद्धिजिवि, व्यापारी र कृषकहरुको अगुवाईमा सहकारी स्थापना गरिएको बताए ।
कार्यक्रममा संस्थाको लेखापरिक्षण प्रतिवेदन लेखा समिति सदस्य थानेश्वर प्रसाद जोशी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मान बहादुर बिष्टले प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म १ करोड ८९ लाख ९१ हजार ९८५ रुपैयाको कारोबार गरेको छ । सो बाट संस्थाले १७ लाख ६० हजार ६४० रुपैया कुल आम्दानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाका उपाध्यक्ष तेज राज पनेरुले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव कमला भट्टराईले गरेकी थिईन ।













