धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सञ्चार क्षेत्र लोकतन्त्रको आधार स्तम्भ भएको बताएका छन । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको प्रेस युनियनकर्मीसंग मुख्यमन्त्री कार्यक्रममा बोल्दै शाहले सञ्चार क्षेत्र लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको विश्वसनीयता र व्यवसायिकता मजबुत बनाउनु सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका हुन ।
मुख्यमन्त्री शाहले पत्रकारिताले लोकतन्त्र स्थापनादेखि संस्थागत विकाससम्म महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे । ‘पत्रकारिता व्यवसायिक, उत्तरदायी र विश्वसनीय बनाउन सरकार, समाज र सञ्चार क्षेत्र सबैको भूमिका जरुरी छ,’ उनले भने । मुख्यमन्त्री शाहले आफ्नै सचिवालयमार्फत् पर्याप्त सूचना बाहिर जान नसकिरहेको बताउँदै त्यसप्रति असन्तुष्टि जनाए । सूचना प्रवाह प्रभावकारी नहुँदा सरकारका कार्यक्रम जनतासम्म पुग्न नसकेको समेत उनले स्वीकारोक्ति गरेका छन् । ‘मेरा कार्यक्रम र गतिविधि जनतासम्म पुग्न सकेका छैनन् । यसले भ्रम र आलोचना बढाउन सहयोग पुगेको छ,’ उनले भने ।


प्रदेश संरचना र सरकारको कामबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले ‘प्रदेशले केही गरेन’ भन्ने धारणा तथ्यहीन भएको बताए । सुदूरपश्चिमका दुर्गम गाउँ–बस्ती सडक सञ्जाल तथा आधारभूत सेवा सुविधासँग जोडिँदै गएको भए पनि सञ्चार माध्यममा त्यसको सकारात्मक प्रस्तुति पर्याप्त नभएको उनको भनाई छ । ‘खानेपानी, स्वास्थ्य सेवा र सडक विस्तारले जनजीवनमा सुधार भएको छ, तर यसको प्रभावकारी संचार हुन सकेको छैन,’ शाहले भने ।
नवजीवन सहकारीमा उठेको विवादबारे मुख्यमन्त्री शाहले गम्भीरता साथ छानबिन अघि बढाइएको जानकारी दिए । उनले ठगी तथा अनियमिततामा संलग्न जो कोहीमाथि कारबाही हुने बताए । ‘मैले प्रहरी संयन्त्रलाई निष्पक्ष छानबिन गर्न निर्देशन दिएको छु,’ उनले स्पष्ट पारे । सरकार सञ्चालनका प्रारम्भिक दिनमा जोस र उत्साहका साथ काम भए पनि प्रशासनिक झमेलाका कारण धेरै काममा ढिलाइ भएको मुख्यमन्त्री शाहले स्वीकार गरे । ‘संरचनागत सुधारदेखि आमसञ्चार विधेयक ल्याउने प्रक्रियासम्म धेरै चुनौती आए । तर सरकार सुधारप्रति प्रतिबद्ध छ,’ उनले भने ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा देखिएका विवाद समाधानका लागि सुझाव आमन्त्रण गर्दै उनले सुधारका लागि आफू खुला रहेको जनाए । प्रदेश सभा भवन केही दिनमै पूरा हुने र त्यसपछि दुई दिनभित्रै सभा सञ्चालनमा आउने जानकारी पनि उनले दिए । नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्य समिति अध्यक्ष भरत शाह, नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँर लगायतले धारणा व्यक्त गरेका थिए ।
प्रेस युनियन कैलाली कोषाध्यक्ष गगन अयडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर बोहराले गरेका थिए । कार्यक्रममा प्रेस युनियनका सदस्यहरुले मुख्यमन्त्री र मिडियाबिचको दुरी, समस्या लगायतका बारेमा सुझाव व्यक्त गरेका थिए ।













