अत्तरिया – कैलालीको गेटामा आगलागी हुँदा पसल जलेर नष्ट भएको छ । बुधबार बिहान गोदावरी नगरपालिका – ५ गेटाका धिरेन्द्र जोशीको घरमा धिरेन्द्र देउवाले सञ्चालन गरेको निसा ट्रेडर्स एण्ड सप्लायर्स र किराना पसलमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको हो ।
प्रारम्भिक अनुसन्धानमा बिजुलीको तार सर्ट भएर आगलागी भएको पाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए । उनले आगलागीको एकीन कारण भने खुल्न बाकी रहेको बताए ।

बिहान सटर बन्द रहेकै अवस्थामा आगलागी भएको प्रहरीको भनाइ छ । आगलागी गेटा र अत्तरियाबाट खटिएको प्रहरी टोली, गोदावरी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको डिएसपी चन्दले बताए ।

बिहान ६ः१० बजे भएको आगलागी ७ः१० बजे नियन्त्रणमा लिइएको थियो । प्रहरीले क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जनाएको छ ।
यसैबिच आगलागी पीडितलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार सहयोग गरेको छ । कैलाली उद्योग वाणिज्य संघको टिमले बुधबार घटना स्थलमै पुगेर उक्त रकम सहयोग गरेको हो ।
संघका सदस्य प्रेम धामीका अनुसार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा, महासचिव दिनेश लम्साल, सचिव प्रकाश कुमार चन्द, कोषाध्यक्ष बोहोरा, सदस्य प्रमिला पाठक, शुभ ठाकुर, तेज बम र कार्यकारी अधिकृत दिनेश ओझा लगायतको टिमले देउवा परिवारलाई सहयोग रकम हस्तान्त्रण गरेको थियो ।



















