खाेज्नुहाेस

अत्तरियामा कार्यक्रम गर्न वनकै भर

Image

अत्तरिया – कैलालीको अत्तरियामा खुला मञ्च नहुँदा वन भित्रै कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको छ । अत्तरिया हुने महोत्सव देखि लिएर खुला ठाउँमा गर्नुपर्ने कार्यक्रमहरू वन भित्रकै खुला ठाउँ खोजेर गर्नुपर्ने बाध्यता रहेको छ । मंगलबार देखि गोदावरीमा सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि वन भित्रकै खाली ठाउँ सम्याएर आयोजना गरिएको छ । प्रतियोगिताको आयोजक विद्यालय दुर्गालक्ष्मी नमूना मावि भए पनि विद्यालयमा पर्याप्त खेल मैदान नहुँदा दुर्गालक्ष्मी सामुदायिक वन भित्रको खाली क्षेत्रमा उद्घाटन सत्रको आयोजना गरिएको छ ।

दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष हरि भट्टराइले खेलकुद आयोजनाका लागि दुर्गालक्ष्मी सामुदायिक वनले सहयोग गरेको बताए । उनले वन भित्रको खाली ठाउँ सम्याउनको लागि नगरपालिका र श्रीपुर बिल्डर्सले सहयोग गरेको बताए ।

attariya hospital

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले प्रतियोगिता कसले खेलाईदियोस भन्ने भएको बेला दुर्गालक्ष्मी नमुना माविले सहयोग गरेको बताए । उनले भने ‘नवज्योती माविमा फिल्ड थियो । त्यहाँ शिक्षकहरूले सहमति जनाए पनि व्यवस्थापन समितिले सक्दैनौ भनेपछि यहाँ खेलकुद कार्यक्रम आयोजना भएको हो ।’ अत्तरिया बजार क्षेत्रमा खुला ठाउँको अभाव हुँदा विगतका बजार बाहिरका विद्यालयमा प्रतियोगिता आयोजना गरिँदै आएको थियो ।

navjiwan hospital

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मात्रै नभएर अत्तरियामा आयोजना हुने महोत्सव, विभिन्न सभा कार्यक्रम पनि वन भित्रै हुने गरेका छन् । अत्तरियामा उद्योग वाणिज्य संघले विगत ८ वर्ष देखि दुर्गालक्ष्मी सामुदायिक वन भित्र महोत्सव आयोजना गर्दै आएको थियो । हाल उक्त क्षेत्र पनि सेनाले आफ्नो भोगाधिकारमा परेको भन्दै प्रयोग गर्न रोक लगाएको छ ।

जसका कारण यस वर्ष सृजनशील युवा क्लबले आयोजना गर्ने सृजनशील गोदावरी सांस्कृतिक महोत्सव सुरक्षा सामुदायिक वनको खुला ठाउँमा आयोजना गर्ने तयारी गरिएको छ । वन भित्र खुला क्षेत्र भए पनि समतल नमिलेकाले महोत्सव आयोजना गर्न निकै चुनौती हुने देखिन्छ ।

२०७८ सालमा अत्तरिया उद्योग वाणिज्य संघले लामितालमा पानी जमेपछि सुरक्षा सामुदायिक वनको खुला क्षेत्रमा (दुर्गा लक्ष्मी मन्दिर पछाडि) महोत्सव गर्ने घोषणा गरेको थियो । तर, पछि महोत्सव आयोजनाका लागि निकै धेरै भरान गर्नुपर्ने अवस्था देखिएपछि पुन लामिताल परिसरमै महोत्सव आयोजना गरिएको थियो ।

यस वर्ष भने लामितालमा सेनाले सहमति नदिँदा सुरक्षा वनकै खाली ठाउँमा महोत्सव गर्नुपर्ने बाध्यता छ । सृजनशील युवा क्लबका अध्यक्ष नर बहादुर राईले भने खर्च बढी लागे पनि जमिन ठम्याएर महोत्सव आयोजना गरिने बताए ।

अत्तरियामा मेला, महोत्सव, कार्यक्रम मात्रै नभएर राजनीतिक दलका सभा गर्दा पनि जंगल भित्रका खाली ठाउँ नै खोज्ने गरिँदै आएको छ । तर, अझै पनि यसको दिगो समाधानका लागि भने पहल हुन सकेको छैन ।

नगरपालिकाका अघिल्लो कार्यकालका जनप्रतिनिधिले दुर्गालक्ष्मी सामुदायिक भित्र खेलकुद मैदान नै बनाउने भन्दै रुख नकाटी घेर बार गरेको भए पनि हाल उक्त क्षेत्र पनि अलपत्र अवस्थामा रहेको छ । पछिल्लो समय भने खुला मञ्च निर्माणका लागि चासो दिन समेत छोडिएको छ ।