धनगढी – नेपाली कम्युनिष्ट पार्टीले आफ्नो पहिलो एकता सभा धनगढीमा सम्पन्न गरेको छ । शुक्रवार धनगढीको कर्भडहलमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरूको सहभागितामा एकता सभा आयोजना गरिएको थियो ।

कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित एक दर्जन वाम घटकबिच एकता घोषणा गरी बनेको नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले धनगढीमा आयोजित पहिलो सभामा एक भएर एक नम्बर पार्टी बन्ने नेताहरूको दाबी गरे ।
सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक प्रचण्डले आफ्नो पार्टीलाई एक नम्बर हुनबाट कसैले रोक्न नसक्ने बताए । उनले भने ‘कम्युनिस्ट पार्टीको एकतापछि यहाँ अर्को पार्टी एक नम्बर हुने कतै कल्पना पनि गर्न सकिँदैन । हामी एक नम्बर भयौँ भयौँ । सुदूरपश्चिमबाट उज्यालो छरिन्छ नेपाल भरी ।’

राष्ट्रका लागि अगाडि आएको सङ्कटको सामना गर्नकै लागि नेपाली कम्युनिस्ट पार्टी बनाइएको प्रचण्डले बताए । ‘चुनाव जितका लागि होइन,’ उनले भने, ‘राष्ट्रका लागि उत्पन्न सङ्कट सामना गर्नका लागि पार्टी एकता गरेका हौँ ।’ प्रचण्डले १५ वटा कम्युनिस्ट घटक एउटै ठाउँमा आएको पहिलो पटक भएको बताएका छन् । प्रचण्डले १५ कम्युनिस्ट घटक मिलेर नयाँ रेकर्ड कायम गरिएको समेत बताए ।
यस्तै पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताए । उनले नेपालले राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण हुनु पर्ने बताए । ‘दलहरूमा दलाली करण, ठेकेदार करण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको छ,’ उनले थपे, ‘त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।’
पार्टीका नेता भीम रावलले आगामी निर्वाचनमा सबैभन्दा ठुलो पार्टी नेकपा बन्ने दाबी गरेका छन् । उनले नेकपा ताजा जनादेशको लागि तयार रहेको बताए । उनले निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्नेमा जोड दिए। ‘नेकपा ताजा जनादेशको लागि तयार छ । निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने छ । त्यो निर्वाचन भयरहित बनाउन सरकारले गोली बन्दुकहरू आफ्नो नियन्त्रण लियोस् ’ उनले भने, ‘यो सरकार निर्वाचनको लागि मात्रै हो । निर्वाचन मात्रै गर्नुपर्छ । अरू सम्धी सम्झौता गर्न पाउँदैन । ’
उनले जेनजीको आवाज पनि नेकपाले बोक्ने बताएका थिए । केपी ओलीले समस्या सृजना गरेर भागेर फेरी भक्तपुरमा पुगेर जनतालाई धम्क्याउन लागेको उनको आरोप थियो ।
सातै प्रदेशका ठुला सहरमा एकता सभा गर्ने तयारी गरेको नेकपाले शनिवार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा गर्ने तालिका छ ।
















