खाेज्नुहाेस

सहजै तोडियो प्रहरी घेरा

Image

अत्तरिया – एमाले नेता महेश बस्नेत धनगढी आउने कार्यक्रमको जानकारी पाएपछि बुधवार बिहानै देखि जेनजी युवाहरू धनगढीको जेनजी मार्ग नजिकै भेला भए । उनीहरूले एमाले नेता महेश बस्नेत विरुद्ध नारा लगाउन सुरु गरे । सोही मार्ग भएर एमाले नेता बस्नेत पनि कैलाली उद्योग वाणिज्य संघको सभा हलमा जाने कार्यक्रम रहेकाले सम्भावित झडप हुन सक्ने कुरालाई मध्यनजर गर्दै ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरियो । जसमा सशस्त्र प्रहरी, नेपाल प्रहरी सहभागी थिए भने नेपाली सेनाले पनि सो स्थलमा रेकी गरिरहेको थियो ।

जेनजी प्रदर्शनकारीको तुलनामा झण्डै पाँच गुणा बढी सुरक्षाकर्मी परिचालन गरेर उनीहरूलाई चारैतिरबाट घेरा हालिएको थियो । सडकको फुटपाथ मै प्रहरी घेरा भित्र जेनजी युवाहरूले हातमा ब्यानर लिएर नाराबाजी गरिरहेका थिए ।

attariya hospital

जेनजीको विरोध सुरु भएको करिब ४ घण्टा पछि मात्रै धनगढी विमानस्थलबाटै नेता बस्नेतलाई लिएर ¥याली सहित युवा संघका कार्यकर्ता जेनजी आन्दोलन स्थल तर्फ अगाडि बढेका थिए । युवासंघका कार्यकर्ता मोटरसाइकलमा ¥याली सहित जेनजी आन्दोलन स्थलमा पुग्दा पनि जेनजीका युवाहरू प्रहरीको घेराभित्र फुटपाथ मै नारा लगाइरहेका थिए ।

त्यतिकैमा युवासंघका कार्यकर्ता कार्यक्रम स्थलतर्फ अगाडि नबढी सोही ठाउँमा रोकिए । मोटरसाइकलको हर्न बजाए । त्यसपछि केही व्यक्ति मोटरसाइकलबाट उत्रिएर प्रहरीलाई धकेलेर जेनजी युवामाथि आक्रमण गर्न थाले ।

navjiwan hospital

प्रहरीले रोकिएका युवासंघका कार्यकर्तालाई अगाडि बढ्न आग्रह गर्दा पनि उनीहरूले मानेनन् र उल्टै प्रहरीको घेरालाई सहजै तोडेर अगाडि बढे । प्रहरी घेरा तोड्ने बित्तिकै अधिकांश जेनजी युवाहरू भागेका थिए ।

तर, पनि युवासंघका कार्यकर्ता त्यहाँबाट सहजै हटेनन् । करिब १० मिनेट जति होहल्ला गरेर उनीहरू पुनः मोटरसाइकलमा बसेर कार्यक्रम स्थल तर्फ गएका थिए । धकेलाधकेल हुँदा जेनजी अगुवा सरिता जोशी सहित ३ जना जेनजी युवा घाइते भएका छन् । उनीहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
युवासंघका कार्यकर्ता कै हाराहारीमा रहेका प्रहरीको घेरा पनि सहजै तोडिएपछि जेनजी युवाहरू भने आक्रोशित भएका थिए । उनीहरूले प्रहरी एमाले कार्यकर्ताका अगाडि मुख दर्शक भएको आरोप लगाएका छन् । जेन–जी अगुवा सरिता जोशीले आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा आक्रमण गरिएको बताइन् । जेनजी धनगढीका युवाहरुले शान्तिपूर्ण प्रदर्शनमा एमालेका युवाहरुले आक्रमण गरेको भन्दै कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन समेत दिएका छन ।

प्रहरीले भने एमालेका युवालाई धकेलेर हटाएपछि थप घटना घट्नबाट रोकिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले प्रदर्शन स्थल भएर एमाले नेता बस्नेत जाने क्रममा झडपको अवस्था सृजना भएको बताउँदै प्रहरी र सशस्त्रले एमालेका युवालाई धकेलेर हटाएपछि थप घटना घट्नबाट रोकिएको बताए ।

कार्यक्रम स्थलमा पुग लगतै एमाले नेता बस्नेतले भने राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेन–जीको नाममा प्लेकार्ड देखाउन युवाप्रति कुनै आपत्ति नरहेको बताए थिए । उनले कार्यक्रम स्थल तर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गरेको दाबी गरेका छन् ।

उनले प्रहरीले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले कुनै पनि अप्रिय घटना हुन नदिएको बताएका छन् । उनले भने ‘जेन्जी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेन्जी का नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पु¥याउन षडयन्त्र गने बालेन कुलमान घिसिङ, सुधन गुरुङ हुन् । यिनलाई पक्राउ गरेर छानबिन गर्नै पर्छ ।’