लैंगिक हिंसा आजको नेपाली समाजको सबैभन्दा गम्भीर र दीर्घकालीन समस्यामध्ये एक हो । कुनै एक वर्ग, समुदाय वा भूगोलमा मात्र सीमित नभई, यो हिंसा हाम्रो घर–परिवार, विद्यालय, कार्यस्थलदेखि सार्वजनिक स्थानसम्म फैलिएको छ । राज्यका विभिन्न कानुनी संरचना, जनचेतना अभियान तथा सामाजिक सरोकारका कार्यक्रमहरू भए पनि लैंगिक हिंसा घट्ने इन्डिकेटरहरु सुस्त गतिमा अघि बढिरहेका छन् । यसको मूल कारण हो–परम्परागत सोच, महिला तथा कमजोर समुदायप्रति असमान दृष्टिकोण, र न्याय प्रक्रियामा देखिने कमजोरी ।
आज पनि महिलाले घरेलु हिंसादेखि बलात्कार, शारीरिक तथा मानसिक यातना, साइबर हिंसा, जबरजस्ती करणी, बालविवाह, दाइजो प्रथा जस्ता हिंसा भोगिरहेका छन् । पुरुष तथा तेस्रो लिङ्गी समुदाय पनि पूर्ण रूपमा सुरक्षित छैनन् । तर, अधिकांश घटनामा पीडित बोल्न डराउँछन्, परिवारले लुकाउन खोज्छ, समाजले दोष पीडितकै काँधमा राखिदिन्छ । यसले अपराधीलाई प्रोत्साहित गर्छ र पीडित अझ गहिरो पीडा र अपराधबोधमा सीमित हुन्छन् ।


लैंगिक हिंसा विरुद्ध प्रभावकारी कदम चाल्न सर्वप्रथम समाजको सोच बदलिन आवश्यक छ । महिलालाई ‘कमजोर’ वा ‘घरभित्र सीमित हुने’ परम्परागत धारणाबाट मुक्त गर्नुपर्छ । शिक्षाले सबैलाई अधिकार, समानता र मर्यादाबारे सचेत गराउनुपर्छ । विद्यालय स्तरबाटै लैंगिक समानता र स्वास्थ्य–सुरक्षाबारे प्रायोगिक शिक्षालाई अनिवार्य बनाउन आवश्यक छ । अभिभावक, शिक्षक र सामुदायिक नेतृत्वले पनि हिंसालाई परिवारको गोप्य विषय नभई सार्वजनिक अपराध भनेर बुझ्नुपर्छ ।
त्यस्तै न्याय प्रणालीको पहुँच र प्रभावकारितालाई पनि चुस्त दुरुस्त बनाउन आवश्यक छ । हिंसा पीडितले उजुरी दर्ता गर्न सहज वातावरण पाउनुपर्छ । प्रहरी प्रशासन, सरकारी वकिल, अदालत तथा साइबर सुरक्षा निकायले पीडित मैत्री सेवा विस्तार गर्नुपर्छ । अनुसन्धान ढिलो हुने, मुद्दा टुंगिन समय लाग्ने र अपराधी सहजै जमानतमा छुट्ने अवस्थाले पीडितमाथि पुनः घाउ थप्ने काम मात्र गर्छ ।
त्यसैले लैंगिक हिंसाका मुद्दामा हिंसा लुकाउने होइन, उजागर गर्ने, समाधान खोज्ने, पीडितलाई सुरक्षित वातावरण दिने र अपराधीलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था गर्नु नै दीर्घकालीन समाधान हो । लैंगिक हिंसा समाप्त हुनु केवल महिलाको मुद्दा होइन, सम्पूर्ण समाजको प्रगतिको आधार हो । लैंगिक हिंसामुक्त समाज निर्माण गर्न आजैदेखि घर, विद्यालय र कार्यालय सबै स्थानबाट परिवर्तन सुरु गर्नुपर्नेछ । यही नै सभ्य समाजतर्फ जाने मुख्य बाटो हो ।
















