खाेज्नुहाेस

निर्वाचनको वातावरण निर्माण गर्न भीम रावलको आग्रह

Image

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो पार्टी पूर्ण रूपमा तयार रहेको बताएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी तयार भएपनि सरकारले अहिलेसम्म निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको बताए । उनले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले हालसम्म कारागारबाट फरार कैदीहरू पक्राउ नपर्नु, हतियार तथा गोलीबारुद नियन्त्रणमा नआउनु र सुरक्षा संवेदनशीलता उच्च रहनु जस्ता विषयले निर्वाचन वातावरणलाई प्रभावित पारेको बताए ।

attariya hospital
navjiwan hospital

रावलले भने, ‘ताजा जनादेशका लागि हामी पूर्ण तयारी अवस्थामा छौँ । तर कैदी–बन्दी फरार छन्, हतियार नियन्त्रणमा आएका छैनन् । सरकारले वातावरण बनाउन ध्यान दिनुपर्छ । सुरक्षित वातावरण बनेमा नेपाली जनताले नेकपालाई भारी मत दिनेछन् ।’

रावलले मंसिर १२ बाट सुरू हुने एकता सन्देश सभाले देशभर नेकपाप्रति जनसमर्थन आणखी बढाउने दाबी गरेका छन् । उक्त सभाको सुरुवात धनगढी रङ्गशालाबाट हुँदैछ । कार्यक्रम दिउँसो साढे १२ बजे सुरू हुने र सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने उनले जानकारी दिए । उक्त सभाका लागि रावलकै संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

रावलले भदौ २३ र २४ गते एमाले र कांग्रेसको ‘दम्भ’ ले घटना सृजना भएको उल्लेख गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नै सबैभन्दा बढी जिम्मेवार रहेको आरोप लगाउँदै उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।

एमालेले सातवटा आपराधिक मुद्दा खेपेका व्यक्तिलाई नेसनल भोलेन्टियर फोर्सको संयोजक बनाएको विषयमा रावलले कडा आलोचना गरे । आगामी निर्वाचनले यस्ता प्रवृत्ति पराजित हुने उनको दाबी थियो । एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि तीव्र बनेको दाबी गर्दै रावलले ठूलो पङ्क्ति नेपाल कम्युनिस्ट पार्टीतर्फ आकर्षित भइरहेको दाबी समेत गरे ।