डोटी– सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री सरस्वती खड्काले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्रै समस्याहरुको समाधान गर्न सकिने बताएकी छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको आर्थिक वर्ष २०८२/०८३ को एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सहभागी हुन डोटी पुगेकी राज्यमन्त्री खड्काले कर्मचारीले जनप्रतिनिधिको विरोध गरेको भन्दै सो कुरा दोहोराएकी हुन ।

उनले जेन्जी आन्दोलनका क्रममा कर्मचारीहरुले नै मन्त्री र सांसदहरुको विरोध गरेको आरोप लगाएकी छन् । ‘जेन्जी आन्दोलनक्रममा भौतिक संरचना क्षति भएका थिए, मानवीय क्षति भएर देश शोकमा थियो, केही दिन त हामी बाहिर पनि निस्कन सकेका थिएनौँ,’ राज्यमन्त्री खड्काले भनिन् , ‘त्यतिबेला केही कर्मचारीहरुले नै यिनीहरु कहिले जान्छन् पदबाट ? यिनिहरु पनि छिटो जानु पर्छ भन्दै हाम्रो विरोध गरिरहेका थिए ।’ उनले सबै कर्मचारीहरुले त्यसो नगरेको भएपनि केही कर्मचारीहरुले सार्वजनिकरुपमै यस्ता अभिव्यक्ति दिएको बताईन ।

उनले जनप्रतिनिधि भएन भने कर्मचारीले मात्रै गरेर सबै कुरा नहुने समेत बताईन । एकले अर्काको विरोध मात्रै गर्ने हो भने यसले कसैलाई सफलता नमिल्ने उनको भनाइ थियो ।
जेन्जी आन्दोलनपछि राज्यका हरेक ईकाईहरुले परिवर्तित परिवेशअनुसार काम गर्नुपर्ने उनले बताइन् । जनप्रतिनिधिहरुबाट कर्मचारीलाई काम गर्नमा कुनै दबाब नदिएको समेत मन्त्री खड्काले दाबी गरिन् । ‘कुन पार्टीको मन्त्री भयो भन्ने ठूलो कुरो होइन, कस्तो व्यक्ति मन्त्री भयो भन्ने ठूलो कुरा हो,’ मन्त्री खड्काले भनिन्, ‘जुनसुकै व्यक्ति मन्त्री भए पनि कर्मचारीहरुसँग समन्वय गर्ने हुनुपर्छ ।’
यसैबिच राज्यमन्त्री खड्काले प्रदेशले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताईन । उनले स्वास्थ्यका क्षेत्रमा प्रदेशले उल्लेख्य काम गरिरहेको दावी समेत गरिन । ‘स्वास्थ्य क्षेत्रमा भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरण र औषधीको व्यवस्थापनका लागि प्रदेश सरकार सक्रिय छ,’ खड्काले भनिन्, ‘स्रोत साधनको कमी भएका कारण जनअपेक्षाअनुसार काम हुन नसकेको हुन सक्छ, तर पनि हामी प्रयत्नरत छौँ ।’



















