अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएको छ । बुधवार निर्वाचन समिति संयोजक देवराज भट्टले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । यस्तै सोही कार्यक्रममा पदाधिकारीको पदभार ग्रहण पनि गरिएको थियो ।

यही असार २८ गते भएको निर्वाचनबाट संघमा कमल कडायतको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको थियो । समितिको उद्योग उपाध्यक्षमा धना देवी चोखाल, वाणिज्य उपाध्यक्षमा गणेश बोगटी, बस्तुगत उपाध्यक्षमा वासुदेव पन्त, महासचिवमा गम्भीर साउँद, कोषाध्यक्षमा दीपेन्द्रराज अवस्थी, सचिवमा धिरेन्द्र बोहरा र सदस्यमा शेखर पनेरु, धनश्याम जोशी, डिल्ली राज ओझा, लक्ष्मीराज ओझा विजयी भएका थिए ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष कडायतले सबै व्यवसायीलाई मिलाएर अघि बढ्ने बताए । उनले सबै व्यवसायीको चासो र चिन्ताका कारण आज अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन भएर नयाँ कार्यसमिति गठन गर्न सफल भएको बताए । उनले निर्वाचनमा संस्थाको निकासका लागि लड्नुपर्छ भनेर सबै टिम सौहार्दपूर्ण वातावरणमा चुनाव लडेको बताए । उनले नव निर्वाचित कार्यसमिति यस क्षेत्रका व्यवसायीलाई सशक्त बनाउन लागिपर्ने बताए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष कल्याण सिंह बोहराले उद्योग वाणिज्य संघमा सञ्चालनमा त्यति सहज नभएको बताउँदै सबैको सहकार्य हुन आवश्यक रहेको बताए । उनले आफू आगामी दिनमा नवनिर्वाचित कार्यसमिति सँगै रहने बताउँदै आवश्यक परेको सहयोग गर्ने बताए ।

















