खाेज्नुहाेस

गेटा मेडिकल विश्वविद्यालयमा रजिस्ट्रारका लागि १० आवेदन स्वीकृत

Image

धनगढी – कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रजिस्ट्रार पदका लागि १० जनाले दिएको आवेदन स्वीकृत भएको छ । तर उपकुलपति पदका लागि पर्याप्त आवेदन नपरेको भन्दै मंसिर ५ गतेसम्म म्याद थप गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रजिस्ट्रार पदका लागि स्वीकृत आवेदन दिनेमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह बिष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशी रहेका छन् ।

attariya hospital
navjiwan hospital

रजिस्ट्रार र उपकुलपति पदको विज्ञापन १५ कात्तिकमा १५ दिनका लागि खोलिएको थियो । सिफारिस समितिले दुवै पदका आवेदकहरूमध्येबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको छोटो सूची बनाउनेछ ।

रजिस्ट्रारको नियुक्तिका लागि ती तीनमध्येबाट प्रधानमन्त्रीलाई सिफारिस गरिनेछ । उपकुलपति पदका लागि चिकित्सा शिक्षासम्बन्धी विषयमा विद्यावारिधि वा समकक्ष उपाधि प्राप्त गरेको र कम्तीमा १० वर्ष प्राध्यापकका रूपमा काम गरेको हुनुपर्नेछ । रजिस्ट्रार पदका लागि स्नातकोत्तर उपाधि हासिल गरेको र उच्च शिक्षामा प्राध्यापन, अनुसन्धान, स्वास्थ्य प्रशासन वा प्रथम श्रेणी राजपत्राङ्कित पदमा कम्तीमा पाँच वर्ष अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

दुवै पदका लागि उमेर सीमा एउटै रहेको छ । अन्तिम मितिसम्म उमेर ३५ पुगेको र ६१ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, दरखास्त दिनुअघि आवेदक कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने नियम छ ।