सुदूरपश्चिम प्रदेशको कृषि उत्पादन पछिल्ला वर्षहरूमा क्रमिक रूपमा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंक धनगढीले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले प्रदेशको कृषि, पशुपन्छी तथा वनजन्य उत्पादनमा देखिएको उतार–चढावका बिच पनि समग्र उत्पादन वृद्धि सकारात्मक दिशातर्फ रहेको निष्कर्ष प्रस्तुत गरेको छ । विशेष गरी, आर्थिक वर्ष २०८१/८२ मा कृषि बाली उत्पादन २।७६ प्रतिशतले बढ्नु प्रदेशको कृषि क्षेत्रले देखाएको मजबुत संकेत हो ।
सिँचाइको विस्तार, कृषिमा यान्त्रीकरण, उन्नत बीउ–बिजनको प्रयोग र अनुकूल मौसमले यस वर्षको उत्पादन वृद्धि सम्भव भएको हो । सबैभन्दा रोचक तथ्य भनेको खाद्य तथा अन्य बालीमा तेलहन र आलुको उत्पादन क्रमशः १८.८९ र १६.११ प्रतिशतले बढ्नु देखिन्छ । तर अर्कोतर्फ फापर उत्पादन ७७.८८ प्रतिशतले घट्नु प्रदेशका पहाडी जिल्लाहरूमा अझै अस्थिर कृषि प्रणाली रहेको प्रमाण रूपमा रहेको छ । जिल्लागत तुलना गर्दा कञ्चनपुर, कैलाली र दार्चुलामा वृद्धि देखिँदा अछाम र बाजुरा जस्ता पहाडी जिल्लामा निरन्तर ह्रास हुनु समावेशी कृषि विस्तारको चुनौतीका रूपमा देखिन्छन् ।


तरकारी र फलफूलतर्फ पनि मिश्रित अवस्था देखिन्छ । अछाममा तरकारी उत्पादन ५३ प्रतिशतभन्दा बढीले बढ्नु उत्साहजनक प्रगति हो भने बाजुरामा झण्डै ३० प्रतिशत ह्रास हुने अवस्थाले भौगोलिक असमानताले कृषि उत्पादनमा ठुलो भूमिका खेल्ने प्रमाणित गर्छ । फलफूल तथा मसला उत्पादनमा दार्चुलामा १५७ प्रतिशत वृद्धि हुनु आश्चर्यजनक उपलब्धि हो, तर डोटीमा ३० प्रतिशत भन्दा बढी गिरावट आउनु दीर्घकालीन कृषि नीतिको कमजोर पक्षका रूपमा लिन सकिन्छ ।
पशुपालन क्षेत्रमा दूध, मासु र अण्डा उत्पादनमा वृद्धि भए पनि वृद्धि दर क्रमशः खुम्चिँदै जानु कृषक वर्गलाई आवश्यक परेको आधुनिक प्रविधि र लगानी अभावको संकेत हो । एकातिर माछा उत्पादन १० प्रतिशतभन्दा बढीले बढ्नु सकारात्मक छ भने अर्कोतर्फ कृषि कर्जा लगातार घटिरहनु प्रदेशको कृषि विकासमा गम्भीर चुनौती बनेको छ । कर्जा अभावले किसानको उत्पादन लागत बढाउने र आधुनिकीकरण प्रक्रियालाई कमजोर बनाउने जोखिम रहन्छ ।
समग्र रूपमा, सुदूरपश्चिमले कृषिमा क्षमता देखाए पनि त्यो क्षमता समान रूपमा उपयोग हुन सकेको छैन । उत्पादन वृद्धि देखिए पनि जिल्लागत अन्तर अत्यधिक छ, पहाडी क्षेत्रमा ह्रास र तराईमा वृद्धि हुने क्रम कायम छ । सरकारले कृषि कर्जा विस्तार, पहाडी जिल्लामा सिँचाइ र पूर्वाधार निर्माण, बजार पहुँच र भण्डारण प्रणाली मजबुत बनाउनेतर्फ गम्भीर ध्यान दिन आवश्यक छ । कृषि सुदृढ भएपछि मात्र सुदूरपश्चिमको आर्थिक आधार स्थिर र दिगो बन्न सक्छ त्यसैले यसतर्फ अब नीति, लगानी र व्यवहारिक कार्यक्रम मार्फत सबैले जोड दिनुपर्ने बेला आएको छ ।
















