डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसले पार्टीभित्र उत्पन्न अन्तर्विरोध समाधानका लागि महासमिति बैठक बोलाउनु पर्ने बताएका छन् ।

मंगलबार डोटीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले अहिलेको परिस्थितिमा महासमिति सदस्यबिच वैचारिक बहस र छलफल आवश्यक रहेको बताए । उनले भने ‘हामी प्रजातान्त्रिक पद्धतिलाई अङ्गीकार गर्छौँ । महासमिति बैठकमार्फत सबैको भावना र विचारलाई मन्थन गरौँ ।’

उनले पार्टीभित्र देखा परेका असहमति र विवादको समाधान संवाद र छलफलकै माध्यमबाट खोजिनुपर्ने बताए ।
भाद्र २३ र २४ गतेका घटनापछि पार्टीभित्र उठेका जेनजी समूहका सकारात्मक मागहरूप्रति पनि ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै उनले नेतृत्वबिचको होडबाजीले संगठन कमजोर हुन नहुने बताए । ‘हामीले शक्ति सञ्चय गरी पार्टीलाई एक ढिक्का बनाउनुपर्छ,’ उनले भने ‘सबै पार्टीपंती मिलेर कांग्रेसलाई मजबुत बनाऔँ ।’


















